पोखरा/ माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० को उत्तरपुस्तिका परीक्षण गरेका कास्कीका शिक्षकले प्रदेश शिक्षा निर्देशनालयले पारिश्रमिक नदिएको बताएका छन । एसईईको नतीजा प्रकाशन भएको एक साताभित्रै पारिश्रमिक दिने सम्झौता भए पनि अहिलेसम्म आफुहरुले नपाएको शिक्षकहरुको गुनासो छ ।
गत चैत १५ मा सुरु एसइइको परीक्षाको नियमित समुहतर्फको नतीजा गत असार १४ मा प्रकाशन भएको थियो । कापी परीक्षण गरेका छविराज पौडेलले १ सय भन्दा बढी शिक्षकले कपी परीक्षणको पारिश्रमिक नपाएको बताए । ‘कपि संगसंगै पारिश्रमिकको पैसा पनि आउँछ’, उने भने, ‘तर शिक्षा बिकास निर्देशनालयले अहिलेसम्म हामीलाई दिएको छैन ।’ कापी जाँचेर रिजल्ट नआउँदासम्म पैसा लेउ भन्न नमिल्ने तर नतीजा आएको यति लामो समयसम्म पनि पारिश्रमिक नपाउँदा निर्देशनालयको नियत बेठीक भएको उनले बताए ।

फाइल तस्विर
उत्तरपुस्तिका जाँचकै क्रममा बैशाख पहिलो साता पारिश्रमिक बृद्धिको मागसहित शिक्षकहरुले कपी परीक्षणको काम केही दिन स्थगनसमेत गरेर आन्दोलित भएका थिए । आम कस्केली एसईई कपी परीक्षण शिक्षक समुहको नामबाट १ सय ६ जनाले हस्ताक्षरसहित परिक्षा नियन्त्रकलाई सम्बोधन गरी समयानुकुल पारिश्रमिक बृद्धि नहुन्जेल कापी परीक्षण कार्य स्थगन रहने व्यहोरा अवगत एवं ध्यानाकर्षण गराएका थिए । त्यतिबेला उक्त आन्दोलनको नेतृत्व छविराज पौडेलले गरेका थिए ।
आन्दोलनका क्रममा एसईईको नतीजा प्रकाशन भएको एक साताभित्र पारिश्रमिक उपलब्ध गराउने भन्ने सम्झौता पनि भएको थियो । उक्त सम्झौता अनुसार शिक्षा बिकास तथा समन्वय इकाई कास्कीले एसईईको नतीजा प्रकाशन भएलगत्तै सम्बन्धित शिक्षकको खातामा पारिश्रमिक पठाएको थियो । तर प्रदेशले भने अहिलेसम्म नदिएको हो । कपी परिक्षकले प्रतिउत्तरपुस्तिका २४ रुपैयाँ पाउने र त्यसमा १५ प्रतिशत कर तिर्नुपर्छ ।
निर्देशनालयका महानिर्देशक अम्विकाप्रसाद आचार्यले अव एक दुई दिनमै पारिश्रमिक उपलब्ध गराइने बताए । प्रदेश लेखा नियन्त्रकको कार्यालयमा असारमै पैसा आएको तर विविध खातामा रहन पुगेर हिसाव नमिलेकाले अहिलेसम्म पारिश्रमिक दिन नसकिएको उनको भनाई छ । ‘अहिले हिसाब मिलेर आम्दानी बाँध्ने काम पनि भइसकेको छ’ आचार्यले भने, ‘एक दुई दिनपछि नै पारिश्रमिक उपलब्ध हुनेछ ।’





