मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङमा आत्महत्याको डरलाग्दो ग्राफ

बागलुङमा आत्महत्याको डरलाग्दो ग्राफ

वैदेशिक रोजगारीमा असफल भएर फर्केकाहरुमा मनोवैज्ञानिक समस्या र आर्थिक संकटका कारण मनोरोगी बढे ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८१, सोमबार

बागलुङ/पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्यामा बढोत्तरी भएको छ । पछिल्लो तीन वर्षमा हरेक वर्ष आत्महत्या गर्ने बढेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।
प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, आर्थिक वर्ष २०७८/०७९ मा ३७ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०७९/०८० मा ४५ जना र गत आव २०८०/०८१ म ६० जनाले आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्नेहरु अधिकांश २० देखि ४० वर्ष उमेरका छन् । आत्महत्या गर्नेहरु सहर उन्मुख क्षेत्रमा बढी देखिएका हुन् । हरेक वर्ष सदरमुकाममा बढी र त्यसपछि गलकोट क्षेत्रका नागरिकले आत्महत्या गरेको देखिएको हो ।
प्रहरी अनुसन्धानमा आत्महत्या गर्नेमा मनोरोगी, लागूपदार्थ र अत्याधिक मदिरा सेवन गर्नेहरु संलग्न भएको भेटिएको हो । त्यसबाहेक विगतमा आत्महत्या प्रयास गरेको परिवारका सदस्य, बिषादीमा सहज पहुँच बढ्नु, द्वन्द्वपीडित, प्रकोपपछि परिवारबाट एक्लिएका, दीर्घरोग लागेका लगायत छन् । युवाहरुमा भने प्रेम सम्बन्ध, अबैध सम्बन्धका कारण पनि आत्महत्याको बाटो रोजेको भेटिएको हो ।
छिमेकी पर्वत जिल्लामा भने संख्या स्थिर रहेको देखिएको छ । आव २०७८/०७९ मा ४७ जनाले आत्महत्या गरेकोमा ०७९/०८० मा ४५ र ०८०/०८१ म ४२ जनाले आत्महत्या गरेको भेटिएको हो । देशभर भने यो संख्या डरलाग्दो छ । प्रहरीका अनुसार सबैभन्दा धेरै झुण्डिएर र त्यसपछि बिष सेवन गरेर मर्नेहरु देखिएका हुन् ।
वैदेशिक रोजगारीमा जाँदा असफलता भएकाहरुले पनि आत्महत्या प्रयास गरेको भेटिएको हो । सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक मीनप्रसाद उपाध्याय त्यस्तो अवस्थामा पुगेकालाई सामाजिक मनोपरामर्श दिने गरिएको बताउँछन् । नियमित र तत्कालिन मनोपरामर्शले यो तथ्यांक घटाउन सहयोग पुगेको हो ।
बागलुङमा हरेक वर्ष ११ हजारबढी बैदेशिक रोजगारीमा जाने युवा छन् । तीमध्ये असफल भएर फर्केकाहरुमा मनोवैज्ञानिक समस्या र आर्थिक संकट देखिएपछि मनोरोगी बढेको भेटिएको हो । उनीहरुलाई परामर्शसहित व्यावसायिक तालिम दिएर दुर्घटना हुनबाट जोगाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->