बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा अग्रणी भूमिका खेल्दै आएको बागलुङ जेसीज वर्ष २०२४ ले यस वर्षको जेसीज सप्ताह शुरु गरेको छ ।
विभिन्न खेलकुद, साँस्कृतिक तथा रचनात्मक कार्यक्रमसहित जेसीज सप्ताहको शुरु भएको हो । सप्ताहको पहिलो दिन मंगलबार उद्घाटनसंगै युवा सम्मान कार्यक्रम गरियो ।
सप्ताहको उद्घाटन बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गरे । देशमै केही गर्ने सोचका साथ व्यवसाय र उद्यममा जोडिएका बानपा ७ का ग्रिनल्याण्ड बहुउद्देश्यीय कृषि फर्मका संचालक ओमराज शर्मा र बानपा ३ स्थित मिलन ट्याटु एण्ड आर्ट ग्यालरीका संचालक मिलन खत्रीलाई युवा सम्मानको रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा बागलुङ जेसीजको प्रतिनिधित्व गर्दै पोखरा जेसीजले आयोजना गरेको बक्तृत्वकलामा प्रदेशमै उत्कृष्ट हुन सफल निरुता शर्मालाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान पत्र, दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो । सम्मानित व्यक्तिको परिचय उपाध्यक्ष रोहन जिसी र प्रतिभा केसीले गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले समाज रुपान्तरणका लागि युवाहरुको भुमिका महत्वपूर्ण हुने भएकाले सिर्जनशिल हुनुपर्नेमा जोड दिए । उनले युवाहरुले परिवर्तनको सोच राखेर अघि बढ्न समाज र देशको विकास सम्भव हुने धारणा राखे ।
कार्यक्रममा बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एवम् नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना र सम्मानित व्यक्तिको तर्फबाट ओमराज शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवम् कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । सप्ताहको दोस्रो दिन भोलि बुधबार शेयर सम्बन्धी तालिम रहेको मुल संयोजक कँडेलले जानकारी दिए ।






