मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘प्रजातान्त्रिक समाजवादका लागि स्वदेशी पूँजिको विकास’

‘प्रजातान्त्रिक समाजवादका लागि स्वदेशी पूँजिको विकास’


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८१, मंगलबार

बागलुङ/नेपाल राष्ट्रबैंकका पूर्व गर्भनर चिरन्जिवी नेपालले राजनीतिक परिवर्तन भएपनि राष्ट्र निर्माणका लागि पूँजिको विकास आवस्यक भएको बताएका छन् ।
बीपी जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवादका लागि उत्पादनमुखी अर्थतन्त्र’ विषयक संवादमा नेपालले समाजवाद भनेको कसैको सम्पत्ति ल्याएर बाँड्ने नभई सबैजना उत्पादनमा सक्रिय बन्ने भएको पनि बताए ।
देश विकासका लागि पूँजिको आवस्यकता भएपछि सबै नागरिकले काम गरेर उत्पादन गर्ने, बजारको खोजी गर्ने र धनी बन्ने भएको उनले बताए । ‘हामी धनी बनेपछि मात्र राज्यका लागि पनि योगदान गर्न सक्छौं, कर तिर्न सक्छौं’ उनले भने, ‘२ लाख कमाउनेलाई ४ लाख कमाउने बाटो देखाउन सकियो भने उनीहरुले खुसी भएर कर पनि तिर्न सक्छन् ।’
नेपालले व्यापार र उद्यमशिलता फरक कुरा भएको भन्दै नेपालमा उद्यमशिलता चाहिएको बताए । हरेक क्षेत्रमा नयाँ उत्पादन गरेर आर्थिक उपार्जनको बाटोमा हिंड्न प्रेरित गर्न सक्ने सरकार र राजनीतिक नेता नै बीपीको लोकतान्त्रिक समाजवादको अनुयायी भएको बताए ।
नेपालले उद्यमीलाई सम्मान गर्ने वातावरण चाहिएको सुनाए । ‘यतिबेला धेरै पैसा भएको उद्यमीलाई ठग भन्ने प्रवृत्ति मौलाएको छ’ उनले भने, ‘लगानीकर्तालाई सम्मान गर्नुपर्छ ।’ एमसीसी नेपालीको लागि सित्तैमा आएको रकम भएकोले लिएर सदुपयोग गर्नुपर्ने भन्दै उनले बिआरआई पनि अनुदानको रुपमा लिएर उद्यमशिलता बढाउन सुझाए ।
बीपी कोइरालाले पंचायतको समयमा पनि उद्यमशिल नागरिक बनाउने नीति लिएको उल्लेख गर्दै अहिले उद्यम र उद्योगलाई संरक्षण गर्ने नेता चाहिएको बताए । आयात प्रतिस्थापन हुने गरी उद्यम गर्न सकेमा देशको अर्थतन्त्र सुधार हुने पनि बताए । उनले संविधान निर्माणको बेला केन्द्रीय बैंक एउटा मात्रै रहनुपर्ने अडान राखेर देशको अर्थतन्त्र बचाएको पनि बताए । बरु संघियताको मर्मअनुसार दुइचारवटा स्थानीय तह मिलेर एउटा वस्तु उत्पादन गरेर निर्यातमुखी बनाउन पनि सुझाव दिए ।
कार्यक्रममा कांग्रेस नेता देवराज चालिसेले बीपी कोइरालाको राष्ट्रभक्ती र समाजवादको विषयमा प्रशिक्षणात्मक प्रस्तुती राखे । उनले बीपी प्रधानमन्त्री हुँदा चारभारी दाउरा बढी खर्च हुँदा संसदमा स्पष्टीकरण दिएको उल्लेख गर्दै जवाफदेहि र नेतृत्वप्रति कार्यकर्ताको सम्मान पनि चाहिएको बताए । साथै, उनले नेतृत्व भनेको छोटो समयमा केही काम गरेर देखाउन सक्ने मात्र बन्नुपर्ने पनि बताए । वर्षौदेखि एउटै कुर्सीमा बस्दैमा नेता नहुने र देश विकास पनि नहुने नेता चालिसेले बताए ।
अर्का उद्यमी योगराज कंडेलले उद्यमशिलता र नवप्रवद्र्धनका लागि धेरै युवा आवस्यकता भएको बताए । उनले आफ्नै अभियानमा पनि युवा चाहिएको भन्दै उत्पादनमुखी अर्थतन्त्रमा साथ दिन काम गरिरहेको जानकारी गराए । उनले अझैपनि आफ्नै फर्ममा सयौं युवाको खोजी गरेकोले युवा पलायन रोक्ने काममा लगाउन आग्रह गरे ।
कार्यक्रममा एमाले अध्यक्ष हिराबहादुर केसी, राजमोका सचिव भीमलाल पोखरेल र माओवादीका प्रतिनिधि अर्जुन चोखालले पनि बीपीको समाजवाद लागू गर्न कांग्रेसहरु तयार भए देशमा अझैपनि राजनीतिप्रति बितृष्ण नआउने भन्दै उनीहरुले कम्प्युनिष्ट पार्टीहरु पनि उत्पादनमुखी अभियानमा लाग्नुपर्ने सुझाव दिए ।
कांग्रेस जिल्ला सभापति जितबहादुर शेरचनको अध्यक्षता, सचिव हरिहर शर्माको संचालन र अर्का सचिव गण्डकी थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->