पोखरा/ पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)) को सहकार्यमा पोखरामा ‘सामाजिक, आर्थिक संवेदनशीलता बुझाइको सन्दर्भीकरण’ विषयक सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा सामाजिक, आर्थिक संवेदनशीलताको सन्दर्भमा विभिन्न विशेषज्ञहरू, नीति निर्माताहरू, अनुसन्धानकर्ता, र अन्य सरोकारवालाहरूको सहभागिता थियो ।
नेपाल सन् २०२६ मा अल्पविकसित देशको सूचीबाट बाहिरिन लागेको अवस्थामा, सामाजिक, आर्थिक संवेदनशीलतालाई सही रूपमा बुझेर नीतिगत निर्णयहरू लिनु अत्यावश्यक रहेको र सम्मेलनले यसै उद्देश्यलाई मध्यनजर राख्दै सामाजिक, आर्थिक संवेदनशीलता बुझ्न र समाधानका उपायहरू खोज्नको लागि एक साझा मञ्च प्रदान गरेको थियो ।
सम्मेलनमा सरकारी अधिकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू, नीति निर्माताहरू, अनुसन्धानकर्ता, शिक्षाविद्, नागरिक समाजका अगुवा, उद्योगी, निजी क्षेत्रका प्रतिनिधि, र मिडियाकर्मीहरूको उपस्थिति थियो। सम्मेलनको उद्देश्य वैज्ञानिक ज्ञान र अनुभवको आदानप्रदान गर्दै नेपालमा सामाजिक(आर्थिक संवेदनशीलताको असरलाई समीक्षा गर्नु र खुला संवादको माध्यमबाट प्रभावकारी समाधान पहिल्याउनु रहेको थियो। सम्मेलनमा चारवटा मुख्य विषयहरूमा केन्द्रित सत्रहरू सञ्चालन गरिएका थिए । तीनमा प्रत्येक सत्रमा एउटा प्रमुख प्रस्तुति र त्यसपछि प्यानल छलफल गरिएको थियो । छलफलले सामाजिक, आर्थिक संवेदनशीलताको मर्ममा रहेका चुनौतीहरूको व्यावहारिक समाधान खोज्न महत्वपूर्ण भूमिका खेलेको थियो।
सम्मेलनका चार प्रमुख विषयहरूमा आर्थिक असमानता, सामाजिक वर्गीकरण, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिहरू, खाद्य सुरक्षा, पोषण, र स्वास्थ्यका विषयहरू समावेश थिए । पहिलो सत्रमा आर्थिक असमानताको सन्दर्भमा प्रमुख प्रस्तुति त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र विभागका सहायक प्रा.नवीन अधिकारीले गरे भने प्यानल छलफलमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी, नेपाल राष्ट्रबैंकका वरिष्ठ डेपुटी गभर्नर, डा.नीलम ढुंगाना तिम्सिना र गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिम्सिना सहभागी भएका थिए । यस सत्रमा आय, रोजगारी, शिक्षा, र स्रोतहरूको पहुँचमा रहेको असमानताका विषयमा छलफल भयो । छलफलको समन्वय आर्थिक पत्रकार समाज, नेपाल (सेजोन) का शरद ओझाले गरेका थिए ।

दोस्रो सत्रमा सामाजिक वर्गीकरणका मुद्दाहरूमा छलफल गरिएको थियो । यसमा पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका सह–प्रा. डा. ऋषिकेश पाण्डेले जातीयता, लैंगिक असमानता, र सामाजिक विभाजनको प्रभावबारे प्रस्तुति दिएका थिए । प्यानलिस्टहरूमा स्वतन्त्र अनुसन्धानकर्ता डा. मीना पौडेल, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. विश्वकल्याण पराजुली र लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण एवम् लैङ्गिक हिंसा सम्बन्धीका विशेषज्ञ डा. प्रणब दाहाल सहभागी भएको । यस छलफलको समन्वय अन्नपूर्ण एक्सप्रेसका पत्रकार स्मिता अधिकारीले गरेकी थिइन । तेस्रो सत्र जलवायु परिवर्तन र प्राकृतिक विपत्तिहरूको सन्दर्भमा थियो। यस सत्रमा जलवायु परिवर्तनले समाजमा पारेको प्रभावबारे ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडीज, काठमाडौंका निर्देशक डा.उत्तमबाबु श्रेष्ठले प्रस्तुति दिएका थिए । छलफलमा प्यानलिस्टहरूमा पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका प्रा.डा. बिनयकुमार मिश्र, त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञान विभागका सहायक प्रा.रमेशराज पन्त र इसीमोडका रिमोट सेन्सिङ र भू–सूचना विश्लेषक सुश्री फिनु श्रेष्ठ सहभागी थिए । यो सत्रलाई वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका सह–प्रा।डा. विष्णुप्रसाद देवकोटाले समन्वय गरेका थिए । अन्तिम सत्र खाद्य सुरक्षा, पोषण, र स्वास्थ्यका विषयमा केन्द्रित थियो। यस सत्रमा जनस्वास्थ्य विशेषज्ञ तथा एक्टिभिस्ट डा. अरुणा उप्रेतीले बालपोषण, खानेपानी, र स्वच्छताका विषयमा प्रस्तुति दिइन् भने प्यानलिस्टहरूमा त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्यका प्रा.डा. शरदराज ओन्ता, नेपाल सरकार कृषि मन्त्रालयका सह–सचिव डा। हरिबहादुर के.सी. र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. दुर्गा देवकोटा रहेका थिए । यो सत्रलाई पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका सह–प्रा.डा. डमरूप्रसाद पनेरूले समन्वय गरेका थिए ।
सम्मेलनले सामाजिक, आर्थिक संवेदनशीलता बुझ्न गहन छलफल गरी व्यावहारिक नीति निर्माणका लागि महत्वपूर्ण सुझावहरू प्रदान गरेको छ। सम्मेलनका प्रमुख नतिजाहरूमा नेपालको सन्दर्भमा सामाजिक, आर्थिक संवेदनशीलताबारे गहिरो बुझाइ, व्यावहारिक नीति र कार्यक्रमका लागि सुझावहरू, सरोकारवालाहरूबीचको सहकार्यको सुदृढीकरण र स्थानीय समुदायलाई सामाजिक, आर्थिक चुनौतीहरूबारे सचेत गराउनु समावेश छन्। यी सुझावहरूले आगामी दिनमा नीतिगत हस्तक्षेप र विकासका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन योगदान दिने अपेक्षा गरिएको छ।
सम्मेलनको उद्घाटन मन्तव्यमा यूएनडीपी नेपालका समावेशी आर्थिक विकास पोर्टफोलियो प्रबन्धक, कल्पना सरकार र गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य माया तिम्सिनाले समाजमा विद्यमान असमानता र विभाजनलाई सम्बोधन गर्नको लागि नीति निर्माणको आवश्यकतामा जोड दिए । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले प्रारम्भिक सत्रको समापन मन्तव्य राख्दै सामाजिक, आर्थिक सुदृढीकरणका लागि ज्ञानको आदानप्रदानमा यस्तो सम्मेलनको महत्वलाई विशेष जोड दिए ।
समापन सत्रमा गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य माया तिम्सिना, पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी, पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका उप–प्राध्यापक मनकुमारी पराजुली, जिल्ला जनस्वास्थ्य प्रशासक रमेश अधिकारी, यूएनडिपीका सचिन पाण्डेले सामाजिक, आर्थिक संवेदनशीलतालाई सम्बोधन गर्न व्यावहारिक नीति र कार्यक्रमका उपायहरू प्रस्तुत गर्दै सम्मेलनको सफलता सुनिश्चित भएको बताए । सम्मेलनले नेपालको सामाजिक(आर्थिक संवेदनशीलतालाई सम्बोधन गर्न महत्त्वपूर्ण नीति निर्माणका लागि आधारशीला तयार गरेको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।





