
बागलुङ/सदरमुकाम बागलुङ बजारबाट लामो तथा छोटो दुरीका लागि छुट्ने ठुला सवारी साधनमा केही वर्ष पहिलाको जस्तो चाप छैन् । अधिकांश यातायात कम्पनीका ठुल्ठुला बसहरु खाली जस्तै गड्छन् । व्यवसायीहरुलाई तेल खर्च जुटाउन समेत कठिन छ ।
तर बागलुङबाटै छुट्ने नेपाल सरकारको स्वामित्व रहेको साझा बसका लागि भने हरेक दिन यात्रुको चापले पेलिरहेको छ । यहाँको टिकट बुकिङ काउन्टर चार पाँच दिन अघिनै बसको टिकट बुक गरिसक्छ । कयौं यात्रुहरु साझाको टिकट नपाएपछि नीजि क्षेत्रका सार्वजनिक सवारीमा यात्रा गर्ने गरेका छन् । साझाको लोभलाग्दो आकर्षणलाई बुझेको साझा यातायातले चाडपर्वको छेको पारेर काठमाडौंदेखि बागलुङका लागि सेवा बिस्तार गरेको छ । असोज १ गतेदेखि साझाले दुईवटा रात्री बस सञ्चालनमा ल्याएको हो । असोज १ गतेसम्म भने काठमाण्डौं र बागलुङबाट एक÷एक वटा मात्रै बस छुट्ने गरेका थिए । एउटा मात्रै बसले यात्रुको चाप नथेगेको बागलुङ टिकट काउन्टरका प्रम्ुख आत्माराम पौडेल बताउँछन् ।
गण्डकी प्रदेशको दोस्रो ठूलो वयापारिक केन्द्रको रूपमा परिचित बागलुङ सदरमुकामसम्म २०७४ सालदेखि एउटामात्र रात्री बस सेवा संचालन गर्दै आएकोमा साझाको रात्री सेवा असोज १ गते देखि बागलुङ–काठमाडौं साँझ साढे ५ र साढे ६ बजे छुट्नेगरी सुरु भएको छ । काठमाडौंदेखि बागलुङ सम्मको बस भाडा १ हजार ५० रुपैयाँ कायम गरिएको छ । अन्य सवारी साधनभन्दा भाडादर कम र आरामदायी यात्रा हुने भएकाले साझा सबैको रोजाईमा परेको पौडेलको बुझाई छ ।





