बागलुङ/४५ औं विश्व पर्यटन दिवश बागलुङमा पनि विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । बागलुङ नगर पर्यटन समितिले दिवशलाई तीनदिने कार्यक्रमसहित मनाउने तयारी गरेको हो ।
बुधबार भएको समितिको बैठकले यस वर्षको ‘पर्यटन र शान्ति’ भन्ने नारालाई उजागर गर्ने गरी कार्यक्रम तय गरेको हो । असोज १० गते बागलुङ कालीका मन्दिरदेखि शालिग्राम संग्राहलयसम्म शान्ति दौड कार्यक्रम गर्ने, असोज ११ गते बिहान ¥यालीसहित प्रवचन कार्यक्रम, दिउँसो वक्तृत्वकला प्रतियोगिता, साँझ नारायण चोकमा भजनकृतनसहित साँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
असोज १२ गते सरोकारवाला तथा पर्यटन विद्यार्थी क्लब र पर्यटन फोकल शिक्षकसहित जनप्रतिनिधिको समीक्षा र पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गरिने बागलुङ नगरपालिकका उपप्रमुख राजु खड्काले बताए । पर्यटन समितिले वार्षिक कार्ययोजना बनाएर पर्यटन प्रवद्र्धनका कार्यक्रम तय गर्ने तयारी गरेको छ ।
यसअघि समितिले बागलुङ कालीका मन्दिरसहित नगरभित्रका ११ वटा गन्तव्यको क्युआर कोर्ड बनाइसकेको छ भने अन्य पर्यटकीय क्षेत्रको विकासमा पूर्वाधार सहितका कार्यक्रम गर्ने तयारी गरेको छ । त्यसबाहेक नगर गौरवको आयोजनाको रुपमा बागलुङ नगरपालिका वडा नं. ९ को तित्याङस्थित डोयमा जाने पदमार्गसहित पूर्वाधार निर्माण, अग्लो शिव मुर्ती समेत बनाउन लागेको छ । त्यसका लागि पहिलो चरणका कार्यक्रम सम्पन्न भैसकेका छन् ।





