बागलुङ/ प्रसुती व्यथा लागेपछि रक्तचापमा अनियन्त्रीत भएकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोंगादोभानकी २० बर्षिया गर्भवती सुनिला बिकको हेलिकप्टरमार्फत उद्धार गरेको हो ।
शनिबार साँझ व्यथा लागेपछि स्थानीय स्थास्थ्य संस्थाको सल्लाहमा बिकलाई परिवारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागेकी उनलाई शनिबार बिहानदेखि एक्कासी रक्तचाप बढ्ने र शरिर काप्ने, बोहोर हुन थालेपछि आमा बच्चा दुवैको ज्यान जोखिममा हुने भएकाले हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको स्वास्थ्य केन्द्रका डाक्टर नविन्द्र ढकालले बताए । उनलाई प्रसुती गृह लैजाने तयारी छ ।
घुमफिरको याम भएकाले बिकको उद्धारका लागि हेलिकप्टर पाउनै मुस्किल भएको थियो । निजी कम्पनीका सबै हेलिकप्टर पर्यटक बोकेर हिँडेकाले निकै लामो मेहनत पछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गर्न सकिएको गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बताए । “बिहान ४ बजे खवर पाएदेखिनै सबै निजी कम्पनीसँग सम्पर्क गर्यौं तर सबै रिजर्भ भएकाले सम्भव भएन्” पाठकले भन्नुभयो “गृह र रक्षा मन्त्रीले समयमा सहयोग गर्नुभकाले नेपाली सेनाको हेलिकप्टर पठाउन सक्यौं, प्रयत्न गरौं, हामि आमा बच्चा दुवैको स्वास्थ्य सुरक्षा गर्न तयार छौं ।”
उच्च रक्तचापको औषधि चलाउँदा गर्भवती आमालाई कम्पन आउने, बेहोस हुने र पेटमा भएको बच्चाको समेत मुटुको चालमा तलमाथी हुने भएकाले बुर्तिबाङमा सुत्केरी गराउन सम्भव नभएको डाक्टर ढकालले बताए । शनिबार साँझदेखिनै गर्भवतीको स्वास्थ्य सुरक्षाका लागि डाक्टरहरु नविन्द्र ढकाल, रचना सुवेदीलगायत स्वास्थ्यकर्मीको समुह खटेको थियो ।

तस्विरः डा.नविन्द्र ढकालको सहयोगमा





