बागलुङ/पञ्चकोटमा संचालित गण्डकी सभाले जयनारायण कौशल्या संस्कृत कन्या गुरुकुलम व्यवस्थापन समिति गठन गरेको छ । पछिल्लो ६ महिनादेखि संचालन भएको गुरुकुलमलाई संस्थागत रुपमा विकास गर्न व्यवस्थापन समिति गठन गरिएको पञ्चकोट विकास परिषदका अध्यक्ष जगन्नाथ आचार्यले बताए ।
शनिबारको भेलाले बागलुङ नगरपालिका वडा नं. ३ की लीलादेवी खड्का अध्यक्ष रहेको जिल्ला कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा विष्णु खत्री, सचिवमा शान्ति ज्ञवाली, कोषाध्यक्षमा गोमा छन्त्याल र सहसचिवमा साबित्री केसी चयन भएका छन् ।
सदस्यहरुमा ज्योती विष्ट, अमृता शर्मा, विद्या खड्का, राधा शर्मा, सविता आचार्य, सुशिला केसी र घुमु गैरे कंडेल रहेका छन् । कमलनयनाचार्यको अगुवाइ र संरक्षकत्वमा उक्त गुरुकुलम स्थापना भएको थियो । यहाँ हाल १५ जना बालिकाहरु अध्ययन गर्दैछन् । यो संख्या बढ्ने क्रममा रहेको र बृहत बनाउने लक्ष्य राखिएकोले व्यवस्थापन समिति गठन गरिएको हो । गुरुकुलममा हाल गोदा रंगनाइकेले अध्यापन गराउँदै आएकी छिन् । यहाँ संस्कृत भाषामै अध्ययन अध्यापन गराइएको छ ।





