बागलुङ/विश्व पर्यटन दिवश भव्य रुपमा मनाउन बागलुङमा अन्तिम तयारी गरिएको छ । सेप्टेम्बर २७ अर्थात् असोज ११ गते दिवश भएपनि असोज ९ गतेदेखिनै दिवशका कार्यक्रम राखिएको छ ।
पहिलो दिन असोज ९ गते सम्पदा सफाइअन्र्तगत बागलुङका विभिन्न धार्मिक तथा अन्य महत्वपूर्ण सम्पदाको सफाइ गरिने भएको छ । त्यसका लागि होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल, बस व्यवसायी उमेश केसी र युवा उद्यमी सौरभ केसीलाई जिम्मा दिइएको छ ।
त्यस्तै असोज १० गते पर्यटन प्रवद्र्धनका लागि शान्ति दौड आयोजना गरिएको हो । दौडमा पत्रकार, व्यवसायी र समितिका सदस्य सहभागि हुनेछन् । बागलुङ कालीका मन्दिरदेखि बानपा ४ को कुँडुलेस्थित शालिग्राम संग्राहलयसम्म शान्ति दौड कार्यक्रम राखिएको नगर पर्यटन समितिका अध्यक्ष राजु खड्काले बताए ।
असोज ११ गते मुल समारोह आयोजना हुनेछ । प्रभातफेरी, प्रवचन र बेलुकी सांगीतिक कार्यक्रम गरिने र बागलुङको पुरानो बजारस्थित देउराली चोकलाई प्रवद्र्धन गर्न कार्यक्रमहरु केन्द्रीत गरिनेछन् । सोहीदिन विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ । असोज १२ गते वृहत अन्तरक्रिया गरिने छ । ती अभियानका लागि नगर शिक्षा शाखा, पर्यटन समितिका पदाधिकारी, कर्मचारी लगायतलाई परिचालन गरिने भएको हो । समितिले दिवश सफल पार्न निरन्तर बैठक, छलफल र संघसंस्थाको समन्वय गरेको समितिका सदस्य सचिव ससबहादुर पुनले बताए ।





