बागलुङ/एक वर्षअघि अफ्रीकन स्वाइन फ्लुले बंगुर मरेपछि किसानको उत्पादन घटेको छ । यहीं मौकामा बंगुरको मासु अभाव भएपछि पछिल्लो समय उत्पादन भएको बंगुर समेत पोखरा लगायतका बजारमा जान थालेपछि मासु व्यवसायीले मूल्य समायोजनको माग गरेका छन् ।
उनीहरुको मागको आधारमा बागलुङ नगरपालिकाले अध्ययन कार्यदल बनाएर बजारको अध्ययन प्रतिवेदन पछि मात्र समायोजन गर्ने निर्णय गरेको छ । मंगलबार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्कको अध्यक्षतामा बसेको बैठकले कार्यदलको प्रतिवेदनको आधारमा मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
हाल बागलुङमा बंगुरको उत्पादन न्युन छ । बजारमा रहेका बंगुृरको मासु बेच्ने १५ वटा पसल छन् । तर अधिकांस बन्द जस्तै छन् । उनीहरुलाई पुर्नजीवन दिन र बंगुर व्यवसाय बढाउन मूल्य समायोजन चाहिएको व्यवसायीको माग छ । त्यसका लागि नगरपालिकाको पशुस्वास्थ्य शाखाका प्रमुख मित्रलाल सापकोटाको संयोजकत्वमा जिल्ला प्रशासन, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, व्यवसायी, उद्योग बाणिज्य संघका प्रतिनिधि, उपभोक्ता मञ्च समेत रहने गरी समिति गठन गरिएको उपप्रमुख खड्काले बताए ।
उक्त समितिले अध्ययन गरेपछि मूल्य समायोजन गर्न सकिने अधिकार दिइएको हो । हाल बागलुङमा बंगुरको मासु प्रतिकेजी ६ सय रुपैयाँ केजी बिक्री भएको संघका सचिव कृष्णबहादुर भण्डारीले बताए । उनले छिमेकी जिल्लामा ७ सयसम्म मूल्य भएकोले सोही प्रकारको बनाउन माग गरेका थिए ।
स्वाइनफ्लुले बंगुर देशभरको नष्ट भएकोले बिस्तारै उत्पादन बढ्न लागेको र सोही अनुसार मूल्य पनि बजारले निर्धारण गर्ने विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताए । देशभरको उत्पादन आफ्नै ढंगले आउने जाने हुने भन्दै आवस्यकताको आधारमा उपभोक्ताको क्षमता समेतले मूल्य निर्धारण हुने तर दशै तिहारको मुखैमा मूल्य बढाउन नहुने सुझाव दिए । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले पनि चाडपर्व लक्षित गरेर मूल्य नबढाउन तर गुणस्तर बढाउने, उत्पादन बढाउने काममा लाग्न सुझाव दिए ।
बंगुरपालक किसानले यसअघि प्रतिकेजी ३ सय ५० रुपैयाँमा बंगुरको मासु व्यवसायीलाई बेच्ने गरेको बताए । स्थानीय किसान दिलकुमारी थापाले उचित मूल्य पाउनुपर्ने बताइन् । त्यसबाहेक खसीबोका, कुखुरा लगायतको मासुको मूल्य पनि अध्ययन गर्ने गरी समितिलाई अधिकार दिइ्रएको खड्काले बताए ।





