बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

४२ जिल्लामा पहिरोको जोखिम, आज र भोलि रात्रिबस चलाउन रोक

४२ जिल्लामा पहिरोको जोखिम, आज र भोलि रात्रिबस चलाउन रोक


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०८१, शुक्रबार

पोखरा/ मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले मंगलबारदेखि देशभर वर्षा भइहेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना देखाउँदै केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिएको छ ।

सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो ।

प्रतिकार्य कमाण्डका संयोजकसमेत रहेका गृहका सहसचिव भीष्मकुमार भुसालका अनुसार यो अवधिमा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने रात्रिबस पनि शुक्रबार र शनिबार नचल्ने बताए । ‘धेरै पानी पर्ने भनेर मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गरेको छ, त्यहाँबाट (तराईबाट पहाडी क्षेत्रमा भए पनि) रात्रि बस चल्ने छैनन्, सिमलताल घटनापछि यातायात व्यवसायीसहित सरोकारवाला बसेर गरेको निर्णय हो,’ भुसालले भने, ‘नियम उल्लंघन बारे जिल्ला प्रशासन, ट्राफिकले अनुगमन गर्छन् ।’ उनका अनुसार रातको समयमा यात्रा गर्दा बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले रात्रि बस नचलाउने निर्णय भएको हो ।

गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङमा रात्री बस चलाउन रोक लगाइएको छ । यसैगरी लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङ, कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् ।कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ ।

प्राधिकरणले आगामी आइतबारसम्म धान नकाट्न अनुरोध गरेको छ भने काटिसकेको भए भित्र्याउन भनेको छ । त्यस्तै, तराई र मधेशमा सकेसम्म भूइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ ।

आज दिउँसो कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराईमा हावाहुरी चल्नेछ ।

शुक्रबार राति भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि सम्भावना छ ।

शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिन (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।

मनसुन सक्रिय बनेर देशभर भीषण वर्षा हुने भएपछि बाढी पूर्वानुमान महाशाखाले आइतबारसम्म बाढीको जोखिम रहेका नदीको सूची सार्वजनिक गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार बाढीको उच्च जोखिम र अति उच्च जोखिम रहेको छ ।

नारायणी नदीको देवघाट क्षेत्रमा शुक्रबार बाढीको उच्च जोखिम छ भने शनिबार अति उच्च जोखिम छ । शुक्रबार कन्काईको मैनाचुली क्षेत्र र कमला नदीको बेलसोत क्षेत्रमा उच्च जोखिम छ । त्यस्तै, बागमती नदीको पधेरादोभान क्षेत्रमा शुक्रबार उच्च जोखिम र शनिबार अति उच्च जोखिम रहेको महाशाखाले विशेष बुलेटिनमार्फत् जनाएको छ । पूर्वीराप्तीको रजैयामा शनिबार उच्च जोखिम छ । त्यस्तै, पश्चिम राप्तीको कुसुम क्षेत्र र बबईको चेपाङ क्षेत्रमा शनिबार अति उच्च जोखिम रहेको छ । महाशाखाका अनुसार शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश नदीमा बहावले सर्तकता तह पार गर्ने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->