पोखरा/ सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन । उनी २०८० जेठ देखि सम्पर्कबिहीन भएका थिए । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीबिरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।
नेपालीलाई आज शुक्रबार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइएको पनि प्रहरीको भनाई छ । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरेको आरोप लागेपछि नेपाली फरार रहेका थिए । उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा छ ।
नेपालीले बेलाबेलामा सामाजिक संजालमा आएर भौतिक सम्पत्ती बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्ने जनाउँदै आएका थिए । उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।





