बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा प्याराग्लाइडिङमा नयाँ शुल्क, ३० मिनेटको ८५ सय, घन्टाको १२ हजार ७५०

पोखरामा प्याराग्लाइडिङमा नयाँ शुल्क, ३० मिनेटको ८५ सय, घन्टाको १२ हजार ७५०


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

पोखरा/  पर्यटक आकर्षित गर्ने नाममा अस्वस्थ प्रतिस्पर्धा भएपछि पोखरामा हुने प्याराग्लाइडिङ शुल्कमा एकरुपता कायम गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) ले प्याराग्लाइडिङको शुल्कको दर तोकिदिएको हो ।

पाराग्लाइडिङ पाइलट्स क्लब र नेपाल हवाई खेलकुद संस्थाको पाराग्लाइडिङ व्यवसायी उपसमितिको बैठकले प्याराग्लाइडिङ उडानका लागि समयका आधारमा फरक फरक शुल्क तोकेको हो । १५ देखि ३० मिनेटसम्म संस्थागत शुल्क ७ हजार ५ सय र अधिकतम बजार शुल्क ८ हजार ५ सय रुपैयाँ तय गरिएको छ । ३० मिनेटदेखि १ घन्टासम्म कम्पनी शुल्क ११ हजार २ सय ५० र अधिकतम शुल्क १२ हजार ७ सय ५० रुपैयाँ तय भएको छ ।

यो शुल्क निर्धारणसँगै प्यारापाइलटको पारिश्रमिक पनि बढेको छ । बैठकको निर्णय अनुसार अब पाइलटले प्रतिउडान ६० प्रतिशत र व्यवसायीले ४० प्रतिशत लिने सहमति भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि सराङकोटबाट उडान हुँदै आएको थियो । अहिले तोरीपानी र मान्द्रेढुंगाबाट उडान गर्नुपर्दा खर्च बढेको व्यवसायीको गुनासो छ ।

सराङकोटबाट उडान सरेपछि नेपाल हवाई खेलकुद संस्थाले १२ हजार रुपैयाँ शुल्क तोकेको थियो । शुल्क चर्को भएकै कारण प्याराग्लाइडिङ उडानमा आकर्षण कम भएको गुनासो बढेको थियो । व्यवसायी र प्यारापाइलटकै विवादपछि आफूखुसी शुल्क लिएर उडान हुने गरेका थियो । यसले उडानका लागि आउने स्वदेशी र विदेशी पर्यटकलाई भने फाइदै भएको थियो । तर यसले अस्वस्थ प्रतिस्पर्धा बढेपछि नाले शुल्क तोकेको हो । पोखरा र आसपासमा अहिले ७४ कम्पनीले प्याराग्लाइडिङ उडान गदै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->