पोखरा/ निरन्तरको वर्षाले गण्डकी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध बनाएको छ । बाढीले झोलुंगे पुल बगाएको छ भने यातायात ठप्प भएको छ ।
त्रिशूली नदीमा आएको बाढीले गोरखाको शहिद लखन गाउँपालिका–४ ठेवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी जोड्ने झोलुंगे पुल बगाएको छ । नदीमा शनिवार बिहान बाढी आएको थियो ।
बाढीले जीपसहितको पुल झारेको शहिद लखन–४ का वडाध्यक्ष यमबहादुर थापाले बताए । पुलले पृथ्वीराजमार्ग जोडेको थियो । यसैगरी बाढीले शहिद लखन–३ सिलिङटार र चितवनको कुरीनटार जोड्ने झोलुंगे पुलमा पनि क्षति पुर्याएको प्रहरीले जनाएको छ । त्रिशूलीको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत आयोजना निर्माणस्थलबाट ३ वटा टिप्पर, २ वटा एक्साभेटर र एउटा जेसीभी बगाएको छ ।
यसैगरी अविरल वर्षाका कारण पहिरो जाँदा तनहुँमा दर्जन बढी ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएका छन । व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्नढ सडकखण्ड अवरुद्ध भएका हुन । पृथ्वीराजमार्ग र भित्री सडकखण्ड अन्तर्गतका विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका–६ मौरीओडार, भानु नगरपालिका–१ भन्सारमा सडक अवरुद्ध भएको छ । यस्तै व्यास नगरपालिका–३ मादी पुल नजिक सडक भासिँदा सडक अवरुद्ध भएको छ ।
यस्तै वर्षाका कारण बाढीपहिरो जाँदा शुक्रबार रातिदेखि हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । बाढीले सडक बगाउँदा लमजुङ खण्डमा पर्ने मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका ४, रामबजार काप्रेभीर र च्याम्चेको अक्टोपस झरना नजिकै पहिरोले सडक अवरुद्ध बनाएको छ । यसैगरी सुन्दरबजार नगरपालिका ५, खहरेलगायत आसपासका खोल्साखोल्सीमा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । यस्तै, बेंसीसहरदेखि घलेगाउँ–भुजुङतर्फ जाने सडक बेंसीसहर नगरपालिका ९ र ६ को सीमावर्ती क्षेत्र पुमाभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।





