मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

खानेपानीको बक्यौता उठाउन कडाइ, बढी शुल्क उठ्नुपर्ने १ सय ग्राहकलाई पत्राचार

खानेपानीको बक्यौता उठाउन कडाइ, बढी शुल्क उठ्नुपर्ने १ सय ग्राहकलाई पत्राचार


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८१, आइतबार

बागलुङ/नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बागलुङले खानेपानीको बक्यौता नतिरेका धाराबाट तत्काल रकम उठाउने भएको छ । त्यसका लागि सबैभन्दा बढी शुल्क उठ्नुपर्ने १ सय ग्राहकलाई पत्रसमेत पठाइएको र अर्को महिना सम्म त्यसको परणाम पनि आउने संस्थाका कावा अध्यक्ष हरिबहादुर जिसी सन्तोषले बताए ।
शनिबार आयोजित बागलुङ नगर भित्रका सरोकारवालाको बैठकमा जिसीले बक्यौता उठाउने काम अगाडि बढीरहेको बताए । त्यसबाहेक नगर बिकास कोषलाई तिर्नुपर्ने ऋणको साँवा र व्याजका लागि जोहो गर्न १३ बर्ष अघि हस्ताक्षर भएको शर्त अनुसार शुल्क बढाउन उपभोक्ताको साथ समेत खोजेको बताए ।
तत्कालिन अध्यक्ष केवी रानामगरले ऋण सम्झौता गर्दा हरेक बर्ष केही रकम बढाएर ३ सय २५ न्यूनतम शुल्क पु¥याउने भन्ने शर्तमा हस्ताक्षर गरेकोले सो ताकेता गरेर कोषले ऋण मा अप्ठ्यारो पारेको उनले बताए । ‘पहिलाकै योजना हो, सम्झौता अनुसार शुल्क थोरै थोरै बढाएको भए यो अबस्था आउने थिएन,’ जिसीले भने, ‘अहिले हामी शुन्य कोषमा पुगेका छौं ।’ संस्थामा मासिक बढीमा १४ देखि १६ लाख शुल्क उठ्ने र कर्मचारी तलब तथा बिद्युत महसुल तिर्दा बजेट अभाव भएको उनले बताए ।
लिफ्ट खानेपानीको बिद्युत मासिक ६ लाखसम्म आउन थालिसकेकोले रकम बचत नभएको उनले बताए । त्यसका लागि न्युनतम शुल्क बढाउन उनले प्रस्ताव समेत गरे । सरोकारवालाले भने संस्थाको विशेष साधारणसभा गरेर उपभोक्ताकै म्याण्डेड अनुसार तत्कालका लागि प्रति धारा २ सय रुपैयाँ उठाउन सहमति दिएको छ । त्यसका लागि हाल न्यूनतम शुल्कमा दिइएको ८ हजार लीटर पानी बढाएर १० हजार लीटर पु¥याउन सुझाव दिइएको हो ।
बागलुङ नगर प्रमुख बसन्तकुमार श्रेष्ठले नियमित र शुद्द पानी आउने हो भने उपभाक्तालाई केही शुल्क बढी तिर्न गाह्रो छैन, जनताले तिर्न पनि तयार रहेको तर पानी नआएको र संस्था भित्रको पारदर्शीतामा प्रश्न उठ्दा बिरोध आएको बताए । ‘अब पानी शुद्द खुवाउनुहोस्, नियमित पानी आयो भने जनताले शुल्क बढाएकोमा विरोध गर्दैनन्,’ उनले भने, ‘बक्यौता उठाउने र खर्चको सीमा घटाउने योजना पनि ल्याउनु पर्छ ।’ उनले प्रशासनिक खर्च घटाउन पनि सुझाव दिए । उपप्रमुख राजु खड्काले पनि बक्यौता उठाउने, तोकिएको भन्दा बढी पानी खर्चेका उपभोक्ताको शुल्क बढाउनुपर्नेलगायतको सुझाव दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले संस्थाले सम्झौता गरे अनुसारको काम किन गरेन भन्ने कुरा पनि कानूनी प्रश्न भएको बताए । ‘जलश्रोत समितिको तर्फबाट हामीले नियमित अनुगमन गरेर सम्झौताहरु कार्यान्वयन भए नभएको पनि हेर्न सकिन्छ,’ उनले भने, ‘काम पनि गरौं, शुल्क पनि नियमित उठाउने काम गरौं ।’ कार्यक्रममा गएका ाप्रहरी उपरिक्षक ऋषिराम कंडेलले बक्यौता उठाउन प्रहरी परिचालन गर्न परेपनि साथ दिने बताए । उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले पनि जनताले शुद्द र नियमित पानी खान पाउनुपर्ने र शुल्क व्यवहारिक रुपमा मात्रै बढाउनुपर्ने सुझाव दिए ।
संस्थाका पूर्वअध्यक्षहरु हरिप्रसाद श्रेष्ठ, जयराम भारी, पूर्वकोषाध्यक्ष लक्ष्मी बास्कोटा, वडा नम्बर ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्री, राजनीतिक दलका प्रतिनिधिहरु समेतले खानेपानी उपभोक्ता संस्थालाई सुशासनमा अगाडि बढाउन नसके नगरपालिकाले जिम्मा लिनुपर्ने र शुल्क बढाएपनि नगरबाटै उठाउने व्यवस्थापन गर्न सुझाव दिएका थिए । कार्यक्रममा अधिवक्ता राम शर्मा, पत्रकार मुकेश राजभण्डारी, सस्थाका सचिव जीवन आचार्य, लगायतले पनि खानेपानी व्यवस्थापन गर्न शुल्क बढेपनि गुणस्तर सुधार भए जनताले साथ दिने बताए । नगर बिकास कोषको ४५ करोड ऋणमा साना सहरी खानेपानी आयोजना संचालनमा छ । यो आयोजनाको काम पूरा भैसकेको छैन । अझै कोषलाई २० करोडबढी रकम तिर्न बाँकी छ । ऋण लिंदा संस्थाले बुझाएको व्यवसायिक योजनामा न्युनतम शुल्क ३ सय बनाउने उल्लेख छ । तर अहिलेसम्म शुल्क भने बढेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->