काठमाडौं/ नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ । बसको नम्बर भने खुलेको छैन । केही भागमात्र देखिएको छ । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ ।
गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।
शुक्रबार गोरखाको धार्चे गाउँपालिका–७ लापुबेंसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको थियो । शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए ।
उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उनले बताए । ‘शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको छ,’ उनले भने । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।





