पोखरा/ गण्डकी प्रदेश सरकारको ५९ बुँदे सङ्कल्प र प्रतिबद्धता सार्वजनिक भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेसहितको संयुक्त सरकार बनेपछि आइतबार ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सोचलाई मूर्त रूप दिने सङ्कल्प सहित नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच गत असार १७ गते भएको ७ बुँदे सहमतिकै आधारमा गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबिच भदौ १७ गते संयुक्त सरकार गठन भएको हो । प्रदेश सरकारलाई जनभावना अनुरुप प्रभावकारी रूपमा सञ्चालन गर्न नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
‘प्रदेशवासीलाई सुशासनको प्रत्याभूति गराउँदै विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय अनुशासनलाई कायम गरिनेछ । सार्वजनिक सेवाका क्षेत्र जनमैत्री, प्रभावकारी र सहज बनाइनेछ,’ सार्वजनिक गरिएको प्रतिबद्धतामा भनिएको छ, ‘कोरलादेखि त्रिवेणीसम्मको सडक निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइनेछ । व्यापारिक प्रयोजनका लागि आवश्यक पूर्वाधार सहित छिमेकी राष्ट्रसँगको सीमा नाका सुचारु गर्न विशेष पहल गरिनेछ ।’
पूर्णपाठ:





