बागलुङ/आइतबार दिउँसोदेखि हराईरहेका बागलुङको गलकोट नगरपालिका वडा नं. ५ हरिचौरका ७५ वर्षिय वृद्व मोतीलाल विक दरमखोला किनारमा मृत फेला परेका छन् । आइतबार दिउँसो घरबाट निस्केका विक साँझसम्म पनि नफर्केपछि परिवारजनले खोजी गरेका थिए ।
खोजी गर्ने क्रममा घरदेखी अन्दाजी २ किलोमिटर उत्तरतर्फ दरमखोलाको किनारमा विकले लगाएको हाफ कोट, टेक्ने लौरी, मोबाईल र घडी फेला परेपछि इलाका प्रहरी कार्यालय गलकोटको टोलीले खोला किनारमा खोजी अभियान थालेको थियो ।
सोही क्रममा लुगा भेटिएको स्थानदेखि झण्डै किलोमिटर तल सोही खोलाको किनारमा सोमबार बिहान साढे ९ बजे विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । घटनाको मुचुल्का गरी पोष्टमार्टमको लागि विकको शव गलकोट नगर अस्पताल पठाईएको छ ।





