काठमाडौं/बडा दशैँको पहिलो दिन आज घटस्थापना । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक घटस्थपना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।
देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ ।
नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव जौ रोपिन्छ ।
यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ। जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।





