पोखरा/ पुनर्निर्माणको क्रममा रहेको फेवातालको बीचभागमा अवस्थित तालबराही मन्दिरमा विहीबार मुल ढोका राखिएको छ । वडादशैं सुरु भएको घटस्थापनाको दिन पारेर मन्दिरमा पुजाआजासहित मुख्य ढोका राखिएको हो । तालबराही मन्दिर गुठी व्यवस्थापन समितिले पुरातत्व विभागको समन्वय, रेखदेख र प्राविधिक सहयोगमा मन्दिरको पुनर्निर्माण गरिरहे्को छ ।
२०७२ को भूकम्पले मन्दिर साढे ४ इन्च दक्षिण ढल्किएको थियो । त्यसपछि पुरातत्व विभागले निरीक्षण गरी पुनर्निर्माण गर्नुपर्ने प्राविधिक प्रतिवेदन दिएपछि २०७९ फागुनमा मन्दिर भत्काइएको थियो । २०८० माघदेखि जग हालेर मन्दिर निर्माण सुरु गरिएको समितिले जनाएको छ । तालबराही मन्दिर गुठी व्यवस्थापन समितिका सचिव ध्रुव बरालका अनुसार अवको ८ महिनादेखि एक वर्षभित्र मन्दिर पुनर्निर्माणको काम सकिनेछ । ९० प्रतिशत काठको काम सकिएको छ । बाँकी १० प्रतिशत ढुंगा र सुर्की (चुना) को काम पनि भइरहेको छ । ‘आज राखिएको मुल ढोकालाई आगामी पूर्णीमापछि ढुंगाको जोडाइ सुरु गरिनेछ’ सचिव बरालले भने ।

मन्दिरको पुनर्निर्माणमा १ करोड ४५ लाख रुपैयाँ लाग्ने पुरातत्व विभागले सुरु इस्टिमेट निकालेको थियो । मन्दिरका पुराना ढुंगा र काठ प्रयोग हुने विश्वास रहेकोमा ढुंगा कुनै पनि प्रयोगमा ल्याउन नसकिने अवस्था रहेको र काठ पनि निकै कम प्रयोग हुने अवस्थाले अव लागत बढ्ने समितिले जनाएको छ । पुरातत्व विभागले ६ लाख रुपैयाँ दिएको र बाँकी रकम समितिका सदस्य र भक्तजनबाट उठाइने बरालले बताए । समितिले १ सय रुपैयाँदेखि माथि सहयोग गर्नेलाई रसिद उपलब्ध गराएको र १० हजार भन्दा माथि सहयोग गर्नेको शिललालेखमा नाम लेखाउने जनाएको छ ।
मन्दिर पुनर्निर्माण गर्ने बेला समितिले स्वरुप परिवर्तन गर्ने प्रयास गरेको थियो । तर पुरातत्व विभागले पूरानै स्वरुपमा मात्र मन्दिर निर्माण गर्न पाइने भन्दै बदल्न रोक लगाएको थियो । पहिलाको भन्दा ठूलो आकार र चारैतिर ढोका राख्ने योजना समितिको थियो । तालवराही मन्दिर तत्कालीन राजा महेन्द्रले बिस २०१७ सालमा अहिलेकाे स्वरुपमा बनाएका थिए। तत्कालीन समयमा खरको झुपडी बनाएर शुरु गरिएको मन्दिर पछि एकलाख २० हजार खर्च गरेर पूर्ननिर्माण गरी कलात्मक काठ, टुँडाल र माटोको प्रयोग गरेर बनाइएको थियो। पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा २ दिनसम्म प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको ठाउँमा पूजाआजा गरिँदै आइएको छ । मुख्य शीला भने चलाउन नमिल्ने भएकाले निर्माणस्थलमै रहेको बरालले बताए । दर्शनार्थीले अहिले सोही चाँदीको मुर्तिमा पुजा गर्दै आएका छन ।

पुरानाे तालबाराही
तालको बिचमा रहेको तालबाराही मन्दिरको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटनमा निकै टेवा पुर्याएको छ । मन्दिर पुग्नै पर्ने ठाउँहरूको सूचीमा अग्र पंक्तिमा रहेकाले पर्यटकको सधै घुइँचो लाग्ने गरेको छ । २०१७ सालमा राजा महेन्द्रले मन्दिर बनाएको भनिए पनि कास्कीका राजा कुलमण्डन शाहले पहिलोपटक मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको बताइन्छ । कतै कतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि पाइन्छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला रहेको र त्यहीं मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजिन थालिएको थियो । साथै तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरु कसैले बास दिएनछन् । एउटी बुढी महिलाले मात्रै उनलाई वास दिएर आँफूसँग भएको रोटी खान दिइछन् । भोलिपल्ट देवी जाने बेला बूढी आमालाई अब यहाँ जलमग्न हुन्छ अन्तै गएर बस्नु भनेकी र तत्कालै ठूलो बाढी आएर जलमग्न भइ बीच भागको ढिस्को मात्रै बचेपछि मन्दिर बनाइएको भनाइ पनि सुनिदै आएको स्थानीय बताउँछन ।





