पोखरा/ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराको आयोजनामा विन्ध्यवासिनी मन्दिरमा विहीबारदेखि नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर पूजाआजा गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको छ । त्यहाँ नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्याले धेरैको ध्यान खिचेको छ ।
समितिले पछिल्लो १७ वर्षदेखि मन्दिरमा नवदुर्गा महोत्सव गर्दै आएको छ । समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले यसपटक गर्ने भनिएको नवदुर्गा शोभायात्रा भने राष्ट्रिय शोक घोषणाले स्थगित गरी अन्य कार्यक्रमलाई निरन्तरता दिइएको बताए । मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ । बिहान र दिउँसो गरी महायज्ञमा संगीतमय झाँकीसहित कथावाचन गरिने छ । भक्तजनका लागि ५ बजेदेखि मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । ५ देखि ९ बजेसम्म बालगोपाल भजनमण्डल विन्ध्यवासिनी महिला भजन समूहलगायतबाट भजनकीर्तन हुनेछ । प्रत्येक साँझ ६ बजे आरती गरिनेछ । बिहान ९ देखि दिउँसो १२ बजेसम्म तथा दिउँसो २ देखि ४ बजेसम्म श्रीमद भागवत कथा प्रवचन हुनेछ ।
मन्दिरमा संकलित भेटी समितिले मन्दिरको सौन्दर्यकरण, पूर्वाधार निर्माणमा खर्चिंदै आएको समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले विश्वास रहेको बताए ।





