पोखरा/ हालैमात्र सरुवा भई आएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले कास्कीमा गुण्डागर्दी नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको बताएका छन् ।
पछिल्लो समय गुण्डागर्दी गर्ने तरिकामा परिवर्तन आएको र त्यसलाई नियन्त्रणमा आफु लागि पर्ने बताएका हुन् । शुक्रबार पत्रकारसँग परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै आफ्नो पहिलो काम गुण्डागर्दी नियन्त्रण गर्नु रहेको बताएका थिए । ‘मेरो पहिलो कार्य भनेको गुण्डागर्दी नियन्त्रण गर्नु हो । जिल्ला प्रहरी मातहातमा रहेका र जिल्लामा भइरहेका गुण्डागर्दीलाई हामी नियन्त्रण गर्छौ’ उनले भने ।
पत्रकारले पोखरामा रात्रिकालिन व्यवसाय र नाइट क्लबमा बाउन्सरको दादागिरी रोक्ने बारेमा प्रश्न गर्दा उनले गुण्डागर्दी त्यही भएका सुनाए । ‘अघि बाउन्सरको कुरा गर्नुभयो । एउटा बाउन्सरले प्रहरीको सरुवा गर्छ, गुण्डागर्दी भनेकै यही हो । अहिलेको गुण्डागर्दी फोन गरेर मलाई १५ लाख ले वा एक करोड ले भनेर कसैले मागेको अवस्था देखिदैन’ उनले भने, ‘यो घुमाउरो पाराले हुन्छ । यस्तो घुमाउरो किसिमले हुने गुण्डागर्दीलाई प्रहरीले नियन्त्रण गर्छ ।’ यसका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको उनले सुनाए ।उनले प्रहरीलाई आएको सुचनामा थप भूमिका खेलिदिन समेत आग्रह गरे ।
यस्तै पोखरा लागुऔषधको हवको रुपमा देखिएको र लागुऔषध विरुद्ध अभियान चलाउने उनले बताए । साथै उनले पोखराको सुरक्षालाई ध्यानमा राख्दै आफ्नो कार्यकालमा सिसिटिभि जडान गर्ने बताए । भएका सिसिटिभि पुराना र पर्याप्त नभएको र भएका पनि चालु अवस्थामा नरहेकाले पोखरालाई सिसिटिभिबाट निगरानी गर्ने योजना आफ्नो भएको उनको भनाइ थियो ।
यस्तै चाडपर्व लक्षित सुरक्षा योजनाबारे सुनाउँदै एक हजार एक सय ६३ जना प्रहरी कर्मचारी परिचालित गरिएको जानकारी दिए । कास्कीलाई अपराधमुक्त बनाउने र चाडपर्व लक्षित सुरक्षा योजना ल्याएको सुनाए । चाडपर्वको समयमा हुनसक्ने चोरी, स्न्याचिङ लगायत अन्य घटना न्युनिकरण गर्नका लागि विभिन्न संयन्त्र बनाइ प्रहरीले सुरक्षा योजना अघि सारेको छ । उनले प्रहरीले दिनुपर्ने सुचना नदिएको विषयलाई आफुले बुझेर सुचना दिने वातावरण बनाउने बताए । प्रहरी समस्या बन्न नहुने आफुले बताउँदै आएको र प्रहरी समस्या–बाधक बन्ने नभइ सेवा दिने बन्नुपर्नेमा उनको जोड थियो । ‘प्रहरीमा आन्तरिक सुद्धिकरण गर्न जरुरी छ भन्नु भयो त्यो हामी गर्छौ । आउने वित्तिकै सबै ठीक हुन्छ भन्ने छैन तपाइहरुको राय सुझावलाई मैले लिएको छु’ उनले भने ।





