बागलुङ/बागलुङ नगरपालिकाले दशैं, तिहार जस्ता पर्वहरुको समयमा अत्याधिक माग हुने चिनी र तेल हरेक वडा कार्यालयसम्म निशुल्क ढुवानी गर्ने भएको छ । नागरिकलाई चाडवाडका समयमा सर्वसुलभ उपभोग्य बस्तुको उपलव्ध गराउनका लागि नगरले निशुल्क ढुवानी गर्ने भएको हो ।
चिनी र तेल बितरणका लागि वडा कार्यालयहरुले हरेक वडामा एक वटाका दरले सहकारी संस्थाको छनोट गर्नेछन् । गरले निशुल्क ढुवानी गर्ने चिनी र तेल वडाले छनोट गरेका सहकारीले सुपथ मुल्यमा उपभोक्तालाई उपलव्ध गराउने नगर उपप्रमुख राजु खड्काले बताए । शुक्रबार खड्काको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले निशुल्क ढुवानीको निर्णय गरेको थियो ।
नगरले ढुवानीका लागि अतिरिक्त खर्च भने नगर्ने खड्काले बताए । नगरमा उपलव्ध सवारी साधनहरुबाट नै ढुवानी सम्भव रहेकाले सबै वडामा समयमानै चिनी र तेल पुर्याइने छ । चाडपर्वको समयमा उपभोक्ता चर्को मुल्यको मारमा पर्ने भएकाले सहकारीले बितरण गर्दा सहुलियत मुल्यमा पाउने उनको विश्वास छ ।
प्रत्येक उपभोक्ताले बढीमा पाँच किलो चिनी र पाँच लिटर तेल पाउने गरी सहकारी वितरण गर्ने उनले बताए । त्यसका लागि वडा कार्यालयले सबै तयारी गर्नेछन् । गतवर्ष पनि नगरले निशुल्क ढुवानीको व्यवस्था मिलाएको थियो । दशैंदेखि तिहारसम्म यो व्यवस्था कायम रहने खड्काले बताए ।
समितिको बैठले चाडवाडका समयमा उपभोग्य बस्तुको माग उच्च हुने भएकाले उपभोक्ता र बिक्रेता दुवैलाई सचेत रहन आग्रह पनि गरेको छ । म्याद गुज्रेका सामग्री बिक्री बितरण नगर्न, अखाद्य रंग मिसिएका खाद्यबस्तु खरिद बिक्री नगर्न र कृतिम अभाव सिर्जना नगर्न बैठकले आग्रह गरेको छ । सवारी साधनलाई तोकिएको भाडा भन्दा बढी भाडा नलिन अ्राग्रह गरेको छ ।





