पोखरा/ गण्डकी विश्वविद्यालयले झन्डै ११ करोड रुपैयाँको लागतमा मुख्य प्रशासनिक भवन निर्माण गरिरहेको छ । उक्त भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिवार शिलन्यास गरे ।
पोखरा महानगरपालिका–३२ मालमुल ज्ञानकुञ्जमा भवन बन्न लागेको हो । अमेक्षा कन्स्ट्रक्सन कम्पनी काठमाण्डौले उक्त भवन २०८२ मंसिर २ मा सक्ने गरी २०८१ जेठ २ मा सम्झौता गरेको छ । भवन निर्माणको लागत १० करोड ९२ लाख ७१ हजार ३ सय ५४ रुपैयाँ रहेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालय गण्डकी प्रदेश सरकारको पूर्ण स्वामित्वमा संचालित छ ।
भवनको शिलन्यास गर्दै मुख्यमन्त्री पाण्डेले विश्वविद्यालयलाई अरु भन्दा फरक खालको अर्थात अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिए । जीवनोपयोगी र आत्मनिर्भर बनाउने नयाँनयाँ विषय खोजेर पढाउनु पर्ने भन्दै मुख्यमन्त्री पाण्डेले प्रदेशको क्षमताले भ्याएसम्म सहयोग रहने बताए । ‘नयाँ प्रविधियुक्त पढाइलाई अघि बढाउनु पर्छ’, उनले भने, ‘राष्ट्रिय अन्तराष्ट्रियस्तरमा गण्डकीको उत्पादन हो भनेर चिनाउने बनाउनु पर्छ ।’ राजनीतिभन्दा माथि उठेर विश्वविद्यालयलाई अघि बढाउनुपर्ने भन्दै उनले अव विश्वविद्यालय आफै सक्षम बन्न जरुरी रहेको बताए ।
प्रदेशको पूर्ण लगानीमा संचालित भवनको शिलन्यास गर्न पाउँदा खुशी लागेको भन्दै उनले अव विश्वविद्यालयका कुनै पनि काम भाडाको घरबाट नहुनेमा विश्वस्त बने । बजेट अभावका कारण कतिपय योजना अलपत्र परेको देख्दा आफुले शिलन्यासमा रुची नराख्ने उनले बताए । ‘सकेसम्म मेरै पालामा नभए पनि खगराज अधिकारी मुख्यमन्त्री भएको बेलासम्म काम सम्पन्न हुने विश्वास छ’ उनले भने, ‘विश्वविद्यालयलाई अन्यत्रबाट अनुदान आउदैन । प्रदेश सरकारसंग पनि पर्याप्त स्रोतसाधन छैन । अव विश्वविद्यालय आत्मनिर्भर बन्नुपर्छ ।’ राजनीतिक हस्तक्षेप र भागबन्डाका कारण शैक्षिक संस्था धरासायी भएको भन्दै पाण्डेले अव त्यसरी चल्न नसक्ने बताए ।
गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश आफ्नै विश्वविद्यालय बनाउने पहिलो रहेको प्रसंग उल्लेख गर्दै यो विशिष्ट प्रयोग भएको बताए । उनले ऐन संसोधन गरी विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

सामाजिक बिकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले शिलन्यासपछि जग हालेर भवन निर्माण थाल्नु पर्नेमा शिलन्यासमा ढिलाई भएको बताए । ‘यसअघि म विभागीय मन्त्री र मुख्यमन्त्रीलाईसमेत थाहा नदिई, प्रोटोकलको पनि ख्याल नराखी शिलन्यास गर्न खोजिएको थियो । त्यो त्रुटी थियो’ उनले भने, ‘अहिले करेक्सन भएको छ । आगामी दिनमा यस्ता कमीकमजोरीप्रति सचेत रहन विश्वविद्यालयलाई आग्रह गरे ।’ केही समय अघिमात्रै विश्वविद्यालयले गण्डकीका संस्थापक मुख्यमन्त्री एवं हाल संघीय सरकारमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङलाई बोलाएर शिलन्यास गर्न खोजिएको थियो । त्यसको बिरोध भएपछि स्थगीत भएको शिलन्यास आज भएको हो । भवनको जग बनेर पहिलो तलाका लागि ढलानको तयारी गरिएको बेला शिलन्यास गरिएको हो ।
विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयको न्यासिक परिषद्मा स्थानीय तह, अर्थ मन्त्रालयको सचिव, योजना आयोगको पनि प्रतिनिधि रहने गरी ऐन संसोधन गर्नुपर्ने बताए । दक्षिण एसियामानै मास्टर्समा आर्टिफिसियल इन्टेलीजेन्स (एआई अर्थात कृत्रिम बौद्धिकता) पढाइ थालिएको भन्दै उनले स्थानीय तहलाई आवस्यक दक्ष जनशक्ति उत्पादन गरी उनीहरुको कार्यलाई प्रभावकारी र कार्यदक्षता बढाउने उद्देश्यसाथ पालिकाको योजना र बिकासको पाठ्यक्रम बिकास गरी स्नात्तकोत्तर तहको पढाइको तयारी गरिरहेको जनाए । ‘प्रदेशले बनाउन लागेको आइटी पार्क विश्वविद्यालयलाई दिए आइटी हवको रुपमा बिकास गर्ने योजना छ’ उनले भने, ‘विश्वविद्यालयमा राजनीतिक रंग छैन ।’ कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले स्वागत गर्दै विश्वविद्यालय संचालनका लागि अति आवस्यक भौतिक पूर्वाधारमध्ये प्रशासनिक भवन पनि एक रहेको बताए । विश्वविद्यालयका सहायक प्रशासक डोलराज सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।





