पोखरा/चाडपर्व नजिकिएसँगै पोखराको सडकमा ट्राफिकको चाप ह्वात्तै बढेको छ । पोखराका चोकहरुमा सवारी जाम हुन थालेको छ । प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न भ्याइनभ्याइको अवस्था छ । तर, पोखराका मुख्य चोकहरुमा नयाँ ट्राफिक लाइटहरु छन् । ती सबै प्रयोगविहीन छन् । सडक विभागले ट्राफिक प्रहरी पोखरा महानगरपालिकालाई ट्राफिक लाइट सञ्चालन गरिदिन काटेको छ तर महानगर र ट्राफिक प्रहरी भने यो लाइट सञ्चालन गर्न कस्सिएका छैनन् । कारण हो–पोखराको भौगोलिक अवस्था र प्रविधि । सडक विभागले पत्रमार्फत् लाइट सञ्चालनका लागि आग्रह गरे पनि त्यसको सफ्टवेयर हस्तान्तरण गर्न भने सकेको छैन । अर्कोतर्फ पोखरामा ट्राफिक लाइट सञ्चालनका लागि भूगोलले समेत साथ दिएको छैन । चोकहरु नजिक हुँदा निकै समस्या परेको छ । सडक विभागको गल्तिका कारण यतिबेला करोडौं लगानी वेवारिसे जस्तै बनिरहेको छ । पोखराको पृथ्वीचोकदेखि जिरो किलोमिटरसम्म करिब एक किलोमिटरको दूरी छ । यो दूरीमा मात्रै चार ठाउँमा ट्राफिक लाइट छ । अझ पृथ्वीचोकदेखि सिर्जनाचोकको दूरी त केही मिटरको मात्रै छ । त्यहाँमात्रै तीन ठाउँमा ट्राफिक लाइट जडान गरिएको छ । यसअघि सडक विभागले लाइटको परीक्षण गर्दा झन सवारी व्यवस्थापनमा भद्रगोल र दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरी प्रविधि उपयोग गर्र्न हिच्किचाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेयले पोखरामा ट्राफिक लाइट संचालनका लागि चुनौती भएको बताइन् । उसो त, उक्त कुरा त्यस अघिका प्रमुख भानु शर्माले समेत बताएका थिए । अहिले पनि समस्या उही छ तर निर्माण कम्पनी वा विभागले सफ्टवेयर दिएमा लाइट बाल्ने वा नबाल्ने बारेमा निष्कर्ष निकाल्न सक्ने प्रमुख पाण्डेय बताउँछिन् ।
‘महानगरपालिका र हामीलाई ट्राफिक लाइट सञ्चालन गरिदिनुस् भनेर एउटा पत्र आएको छ । त्यो साँचो हो तर के चाहिँ आएको छैन भने उहाँहरुले सफ्टवेयर दिनुभएको छैन हामीलाई,’ उनले भनिन्, ‘ सम्भाव्यता अध्ययन एकदमै राम्रो छ । ट्राफिक लाइट हुँदा हामीलाई निकै सहयोग मिल्छ र ट्राफिक व्यवस्थापन प्रविधिमैत्री हुन्छ ।’
चोकको अवस्था, चोकको निकटता र सवारी चापको सन्तुलन कति मिल्छ भन्ने कुरा महत्वपूर्ण पाटो रहेको उनी सुनाउँछिन् । उक्त विषयमा सहजीकरण गर्न खोजिरहेको उनले बताइन् । ‘जसले बनाएको हो उसले सफ्टवेयर दिनुपर्ने र सबैको बीचमा लाइट सञ्चालन गरेर बाल्न हुने वा नहुने भन्ने कुराको निक्र्यौल गरेर अघि बढिनेछ । बोल्दा सबैलाई फाइदा भए बाल्ने र बेफाइदा भए बन्द गर्ने हो,’ प्राविधिक सहयोग नपाएको कारण अहिलेसम्म अन्योल परिरहेको उनको भनाइ थियो ।
तत्कालीन पोखरा उपमहानगरपालिका हुँदा पोखरामा ट्राफिक लाइट जडान गरिएको थियो । २०५६ सालमा तत्कालीन उपमहानगरपालिकाका मेयर कृष्ण थापाले पोखराका विभिन्न चोकमा ट्राफिक लाइट जोडिएका थिए । पोखरा कमर्सियल अटो पार्किङ (पीक्याप) सँगको साझेदारीमा पोखरामा ट्राफिक लाइट जोडिएको थियो । पीक्याप पोखराको सडकमा पार्किङ शुल्क उठाउने ठेकेदार कम्पनी थियो । जोडिएका ट्राफिक लाइट कुनै नियमित मर्मतको अभावमा बिग्रिए भने कुनै तत्कालीन जनआन्दोलनका क्रममा फुटाइएपछि बेवारिसे बनेको थियो । त्यसपछि ०७५ सालमा सडक विभागले पोखराका विभिन्न ठाउँमा लाइट जोड्न अध्ययन अघिबढाएको थियो । पोखराका विभिन्न १० चोकमा ट्राफिक लाइट जोड्न सडक विभाग र पोखरा महानगरले ४ वर्षअघि नै संयुक्त अध्ययन गरेको थियो । ०७८ कात्तिकमा पोखराका २६ ठाउँमा ट्राफिक लाइट जोड्ने महानगरसँग विभागले सम्झौता गरेको थियो ।
हाल विभागले पोखराका मुख्य पाँच वटा चोकमा ट्राफिक लाइट राख्ने काम गरेको छ । काम सकिएपनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पहिलो चरणमा पृथ्वीचोक, सभागृह चोक, सृजना चोक, महेन्द्रपुल, जिरो किलोमिटर र विरौटा चोकमा लाइट जडान गरिएको हो । पाँच ठाउँमा ट्राफिक लाइट राख्नेको लागि सडक विभागले १ करोड २६ लाखमा ठेक्का गरेको थियो ।





