पोखरा/ दसै भन्नसाथ मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, पिङ खेल्ने, बिदा हुने भएकाले गाउँघर फर्किने । मिठोमसिनोमा मासु पनि पर्नेनै भयो । गण्डकी प्रदेशमा दसैकाे याे सूचीमा हिमाली बाख्रा (च्यांग्रा) काे मासु पनि थपिन्छ । हिमाली भेगबाट पोखरा लगायत प्रदेशका विभिन्न स्थानमा च्यांग्राको लस्करमा दसैं बसाउँने गरेको छ ।
‘अन्य सामान अघिपछि पनि किनमेल गर्न सकिन्छ,’ पोखरा नागढुंगाका रुबिन क्षेत्रीले भने, ‘च्यांग्रा आएपछि मात्रै दशै आएजस्तो हुन्छ ।’ घरमा च्याङ्ग्रा ल्याएर नहुलेसम्म वा च्यांग्राको मासु नखाएसम्म दसैंको कुनै रौनकै नहुने उनले बताए । च्यांग्रा र दशैं गण्डकीमा पर्याय नै बनेको छ । खसीबोकाको मासु जहिल्यै खाइने तर वर्षको एकपटक आउने अवसर भन्दै स्थानीयले च्यांग्राको मासु रोज्ने चलन वर्षौदेखि छ । दशैंमा नौलो, स्वादिलोको रुपमा च्यां्ग्राकै मासु खाइने बताउँछन संस्कृतिकर्मी तीर्थ श्रेष्ठ । ‘दशैमा परिवारजन भेला हुने, दुःख बिर्सने, मिठो खाने, रमाइलो गरिन्छ । यस चाडमा मुख्य खानेकुरा मासु नै हो । त्यसमा पनि पोखरा र आसपासका जिल्लामा च्यांग्राको मासु खाने संस्कृतिको बिकास भइसकेको छ’ श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार पहिला पहिला खसीबोकाको मासु खाने चलन खासै थिएन । कतै भाकल गरेर बली दिएको बोकाको मासु प्रसादको रुपमा खाइन्थ्यो । तर अहिले भने खसीबोकाको मासु सदावहार भएको छ भने च्यांग्राको मासु प्रत्येक दसैंमा यस क्षेत्रमा अनिवार्य बनिसकेको छ । मुस्ताङबाट पोखरा झरेका थकाली समुदायले च्यांग्रा झिकाएर खान थालेपछि अन्य समुदायमा पनि यसको बिस्तार भएको अनुमान श्रेष्ठको छ । ‘सक्नेले सग्लो किन्ने नै भए, नभए एकाध किलो किनेर भए पनि च्यांग्राको मासु खाने चलन बसिसकेको छ’ उनले भने, ‘पहिला फ्रेस हाउसमा च्यांग्राको मासु पाइदैनथ्यो । अहिले पाइन्छ । यसले घरमा सग्लो काट्न नसक्नेले फ्रेस हाउसबाट एक÷दुई किलो भए पनि किनेर लगेर खाने गर्छन ।’
घटस्थापनाको दिनदेखि नै च्यांग्रा डो¥याएर, गाडी र मोटरसाइकलमा लिएर हिडेको दृश्य यस क्षेत्रमा सामान्य बनेको छ । कतिपयले त यसलाई ‘प्रतिष्ठा’ को रुपमा पनि लिन्छन । यस प्रदेशमा मुस्ताङ, डोल्पा, मुगु, बझाङ, बाजुरा, हुम्ला, दार्चुला र तिब्बतलगायतबाट हजारौं च्यांग्रा ल्याइन्छ । दशैदेखि तिहारसम्म बेचबिखन हुने हुँदा च्यांग्राको करोडौं रुपैयाँको कारोबार हुन्छ । यसपटक पोखरामा मात्रै करीव ९ हजार च्यांग्रा र भेंडा भित्रिएको व्यवसायी बताउँछन । जिउँदो खसीबोकाको व्यवसाय गर्दै आएका अशोक श्रेष्ठले पहिला पहिला पोखरामा प्रायः एक घरले एउटा च्यांग्रा भित्राउने गरेकाे बताए । तर आर्थिक मन्दीका कारण अहिले भने ४/५ घर मिलेर एउटा किन्ने र कतिपयले एकाध किलो किनेर च्यांग्राको मासुको स्वाद लिन थालेको उनको भनाई छ । ‘यसपटक औसतमा ३० हजार मुल्यमा एउटा भेंडाच्यांग्रा कनबेच भएको छ,’ उनले भने, ‘यसले पोखरामा मात्रै २७ करोडको कारोवार हुन्छ ।’ प्रदेशका अन्य जिल्लाहरुमा हुने कारोवार पनि उत्तिकै रहने उनले बताए ।
यतिबेला पोखराको याम्दीदेखि सिम्पानीसम्म हिमाली भेंडाबाख्राको मेला नै लागेको छ । मध्य पहाडी राजमार्गको कास्की–पर्वत सडक खण्डबाट पनि हुलका हुल च्यांग्रा आइरहेका छन । झन्डै ३ दशकदेखि च्यांग्राको च्यांग्राको व्यापार गर्दै आएका डोल्पा सहरताराका ओमकार रोकायले डोल्पाबाटमात्र पोखराका लागि ३ हजार जति भेंडाच्यांग्रा गएको बताए । ‘राम्रै कारोवार हुने भएकाले प्रत्येक दशैमा च्यांग्राको कारोवार गर्दै आएको छु,’ उनले भने, ‘नबिक्ने कुरै हुदैन ।’ यसपटक भने आफ्नो गोठका एकसय च्यांग्रा अरुलाई बेचेर उनी पोखरा आएनन् । व्यक्तिगत कामले गर्दा आउन नपाएको भन्दै उनले व्यापार भने नछाडेको बताए ।

२५ सय मीटरमाथीको उच्च हिमाली क्षेत्रमा पालिएका, जडीबुटी चिसोपानी खाने भएकाले च्यांग्राको मासु स्वादिलो र स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । दुइ/तिनसाता लामो पैदल यात्रापछि ब्यवसायीले कम्तीमा एकसय रुपैयाँदेखि २ हजारसम्म च्यांग्रा ल्याउने गर्छन । बसाइसराई बढेसंगै पछिल्लो समय काठमाण्डौ, चितवन र बुटवललगायत क्षेत्रमा पनि च्यांग्रा जाने गरेका छन् । चराएर पाल्ने भएकाले च्याङ्ग्रामा बोसो कम हुन्छ । त्यसैले ‘युरिक एसिड’ भएका बिरामीले पनि मासुले केही गर्दैन भनेर खाने गर्छन ।
पहिलेपहिले मुस्ताङलगायत हिमाली जिल्लाका पशुपालक किसान स्वयं च्यांग्रा लिएर पोखरा झर्थे । पछि मुस्ताङका व्यापारीले नै किसानबाट खरिदेर पोखरा ल्याउन थाले । अहिले भने पोखरा, काठमाडौं, बुटवल लगायत सहरबाट व्यापारी मुस्ताङ मै पुग्छन् । व्यापारी हिमालतिर उक्लिएसंगै च्यांग्राको भाउ पनि उकालो लागिरहेको व्यापारीको अनुभव छ ।





