पोखरा/कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले आइतबार अपरान्ह ४ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा केही पुराना कांग्रेसले पार्टी छाडेकोमा दुःख मनाउ गर्दै एउटा स्टाटस् लेखे ।
केसीले अगाडि लेखेका छन्,‘ कास्की का सभापतिज्यूलाई संगठन नचाहिएको हो वा जे गरे पनि हुन्छ भने सोच हो ? किन नेपाली कांग्रेस कास्की संगठनका बारेमा गम्भीर र जिम्मेवार देखिदैन ? फेसबुकमा फोटा राखेर,कविता गाएर र उद्यमशीलता को नाउँमा कहिले नगरपालिका कहिले प्रदेशबाट पैसा ल्याएर, एसी ( एयरकण्डिसन)मा बसेर ल्यापटपबाट आर्दशका भाषण गरेर संगठन बन्दैन । संगठन गर्न जनताको बीचमा पुग्नुपर्छ । कार्यकर्ता परिचालन गर्नुपर्छ । यदि यस्तै अबस्था रहे हो भने जिल्लाको नेतृत्वको विकल्प कार्यकर्ताले खोज्नुपर्छ र खोज्छ्न् ।’
उनले कास्कीको माछापुच्छे« गाउँपालिका २,सार्दीखोलाका पुराना कांग्रेसी लोक घले र मादी ८,रवैडाँडाका धनबहादुर गुरुङले पार्टी छाडेर एमालेमा गएको जानकारीमात्र गराएनन्, त्यसको दोष कास्की कांग्रेसका सभापति किशोरदत्त बरालकै भएको किटानी पनि गरे ।
१४ औं महाधिवेशनमा किशोरदत्तलाई नै जिताउन लागेका केसीको पछिल्लो समय उनीसँग पानी बाराबारको स्थिति छ । २०७९ को संघीय चुनावमा कास्की क्षेत्र नम्बर १ को टिकटको दाबी गरेकै बेला किशोरले टिकट हत्याएपछि उनीहरुबीच कटुता सुरु भएको हो । कटुताको हद कतिसम्म छ भने, अघिल्लो चुनावमै किशोरलाई हराउन कृष्णले कार्यकर्ता परिचालन नै गरेको अडियोसमेत सार्वजनिक भएको थियो । किशोरले संघीय सांसदको नतिजा एमालेका मनबहादुरलाई सुम्पे तर आफूमाथि अन्तरघात भएको र त्यसको नेतृत्व कृष्णले गरेको भन्दै पार्टी अनुशासन समितिमा उजुरी दिए । सो उजृुरीप्रति टिप्पणी गर्दै कृष्णले ‘सक्ने भए कारवाही गरेर देखाए हुन्छ’ भन्ने सार्वजनिक अभिव्यक्ति दिए ।
कृष्ण केसी संगठन निर्माणमा माहिर मानिन्छन् । कास्की क्षेत्र नम्बर १ मा उनको राम्रो पकड पनि छ । तर, कार्यकर्तालाई दुःख– सुख पर्दा घरमै पुग्ने र सक्दो सहयोग गर्ने उनको बानीका प्रशंसक पनि धेरै नै छन् । तर, आलोचनाबाट भने उनी पनि मुक्त छैनन् । कुनै समय कास्की कांग्रेसको शक्तिकेन्द्र मानिने र हाल प्रदेश अध्यक्ष रहेका शुक्रराज शर्मालाई सभापतिमा हराएका उनीमाथि आर्थिक मामिलामा पारदर्शी नभएको आरोप लगाइन्छ । कास्की कांग्रेसको नेतृत्वमा आएका किशोरदत्तले त उनलाई ‘बागी’ कै बिल्ला भिराएका छन् ।
यद्यपि, केसी कांग्रेसमै छन् । पछिल्लो समय कास्की कांग्रेसका सभापति किशोरदत्तमाथि पनि आरोप लाग्ने क्रम बढेर गएको छ । वौद्धिक नेताको छवि बनाएका उनीमाथि कार्यकर्तामाझ पुग्न नखोज्ने,सानो कोटरीमा रमाउने, बुद्धिविलास गर्ने र एनजिओ चलाएर बस्नेजस्ता आरोप लाग्ने गरेको छ ।
कतिसम्म भने कृष्ण केसीले घुमाउरो तरिकाले भनेजस्तै उनीमाथि पोखरा महानगरबाट झण्डै ५ लाख रुपैयाँ लिएर धम्पुसमा गोष्ठी गरेको, महानगरमा झण्डै २ दर्जन वडाध्यक्षहरु कांग्रेसका हुँदा पनि उनीहरुलाई परिचालित गर्न नसकेको, वक्तव्यबाजीमा रमाउने तर भित्रभित्रै सम्झौता गर्नेजस्ता गम्भीर आरोप पनि लगाइएको छ । पार्टीका प्रदेश सभापति शुक्रराज शर्मासँग पनि उनको सम्बन्ध असाध्यै बिग्रेको छ ।
कांग्रेस वृत्तमा किशोरदत्तले प्रदेश सभापतिसँग टक्कर लिन खोजेको र प्रदेशको अस्तित्वलाई अस्वीकार गर्दै आएको चर्चा छ । ‘शुक्रराज पुगेको कार्यक्रममा किशोर नजाने र किशोर गएकोमा शुक्रराजले पाइला नटेक्ने जस्तो भएको छ,’कांग्रेसका एक जिल्ला नेताले भने,‘ पार्टीका शीर्ष नेता आउँदा पनि कसलाई कता लैजाने भन्ने प्रतिस्पर्धा चलेको छ । केन्द्रीय नेताहरु नै कहाँ जाने भन्नेमा बिलखबन्द भएको पनि हामीले पाएका छौँ, जसले गर्दा कास्की कांग्रेस लथालिङ्ग अवस्थामा छ ।’ ती नेताले कृष्ण केसीले औंल्याएका केही विषयहरु गम्भीर रहेको पनि बताए ।
उता, निवर्तमान सभापति कृष्णको आरोपलाई वर्तमान सभापति किशोरले पनि फेसबुकबाटै जवाफ दिएका छन् । कृष्णले लेखेको करिब ४ घण्टापछि फेसबुकमार्फत् नै उनले कृष्णलाई ‘कांग्रेसविरुद्ध जघन्य घात र अपराध गर्ने’ व्यक्ति भएको किटान गरेका छन् । उनले चेतावनीको शैलीमा भनका छन्,‘ पार्टी संगठनभित्रका आफ्ना गुनासा र असन्तुष्टिको जवाफ पार्टीकै विधि विधानबाट खोज्ने हो । जो चोर उसकै ठूलो स्वर भनेजस्तै आफ्ना जघन्य अपराधहरुलाई छोप्न फेरि अर्को अपराध कोही कसैले पनि गर्नु हुँदैन । कांग्रेसको नेता हुँ भनेर कांग्रेसलाई नै भोट नहाल्ने र कांग्रेसको मूल्य,मान्यता र आदर्शका विपरित आचरण र व्यवहार देखाउनेहरुबाट भएको चिन्ता एउटा छट्पटी, आक्रोश र कुण्ठा मात्रै हो । ’
लामो स्टाटसमा किशोरले कांग्रेसकै उम्मेदवारविरुद्ध अर्को पार्टीको उम्मेदवारलाई भोट हाल्ने, म कम्युनिस्टबाट आएको हँु कसरी विद्रोह गर्नुपर्छ जानेको छु देखाइदिन्छु भन्ने व्यक्तिलाई नेता मान्नुपर्ने र आफ्नो दुःखले आर्जेको आफ्नै पार्टीको मंचमा त्यस्ता ब्यक्तिले माला लगाएर बसेको टुलुटुलु हेरिराख्नु पर्ने हो भने हामी किन कांग्रेस हुनुप¥यो भन्ने अर्को प्रश्न गर्दै आफूले कृष्णमाथि कारवाहीको सिफारिस गरेको तर कारवाहीको अधिकार आफूसँग नभएको पनि प्रष्ट पारेका छन् ।





