बागलङ/काठेखोला गाउँपालिकाले वर्षौदेखि दर्ताबिनै चलेका पसललाई दर्ता प्रक्रियामा ल्याउने काम थालेको छ । पालिकाले दर्ता नभएकालाई दर्तामा ल्याउने र गुणस्तरीय वस्तु बिक्री गर्न लगाउने लगायतको काम गरेको हो ।
बजार अनुगमनको रुपमा सबै पसलमा पुगेर आवस्यक प्रक्रियाबारे सहजीकरण गर्ने, लगातारको अनुगमनमा गुणस्तरहिन सामान बिक्री गरेको भेटेमा कारवाही गरेको अनुगमन समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष तिलक थापाले बताए ।
वर्षौदेखि चलेका पसलहरु दर्ता गर्नुपर्छ भन्ने धारणा समेत नराखेको पाइएकोले उनीहरुलाई सचेतना जगाउने काम पनि भएको थापाको भनाइ छ । त्यस बाहेक एउटै पसलमा खाद्य वस्तु, कुखुराको दाना र गैर खाद्य वस्तु पनि राखेको भेटिएपछि फरक बनाउन पनि सल्लाह दिएको थापाले बताए ।
विशेषगरी सहरका ठूला व्यापारीले म्याद जानै लागेका सामान गाउँमा पठाएर उपभोक्तालाई मारमा पारेको भेटिएको हो । ‘गाउँका उपभोक्ताले म्याद भए नभएको थाहा नपाउने भएकोले जस्तो सामान पनि किनेर लैजाने गरेको पाइयो’ थापाले भने, ‘उपभोक्ता सचेतना र व्यवसायीलाई सल्लाह दिएका छौं ।’ एक पटकको कमजोरीमा सल्लाह दिएर म्याद गुज्रेका सामान नष्ट गर्न लगाएको र पटक पटक भेटिएमा कारवाही गर्ने र सामान बरामद गर्ने गरिएको उनले बताए ।
८ वटै वडामा रहेका पसलहरुमा पुगेर अनुगमन गरिएको हो । अनुगमनको क्रममा कतिपय पसल भएको पत्ता लागेको, हेर्दा सानो पसल भएपनि ठूलो परिणामको कारोवार गरेको र बिल नभएका, दर्ता नगरेका, गरेकाहरु पनि नविकरण नभएको लगायतका कमजोरी पाइएको राजश्व शाखाका प्रमुख प्रकाश पौडेलले बताए ।
त्यस बाहेक मध्यपहाडी लोकमार्गमा पर्ने होटलहरुको गुणस्तर कायम गर्न पहल गर्ने, सरसफाइमा ध्यान दिन लगाउने काम पालिकाले थालेको छ । अनुगमनको क्रममा भौतिक विकास निर्माण जस्तै सडक, खानेपानी, सिंचाइ र भवन निर्माणका योजना मात्र अनुगमन नगरी अन्य क्षेत्रको पनि नियमित अनुगमन बढाउन लागेको हो ।
‘विकास भनेको भौतिक पूर्वाधार मात्र हो भन्ने धारणा बढ्दा सुशासन र गुणस्तरबारे चासो कम भएको पाइयो’ सुशासन समितिका संयोजक बृहस्पति कंडेलले भने, ‘कमजोरी गर्नेलाई छाडेर सुशासन बन्दैन, तर सुशासनको काममा पनि अब बजेट विनियोजनमा चासो राख्नुपर्छ ।’ उनले बजार अनुगमनसँगै उपभोक्ता सचेतना कार्यक्रम अघि बढाउने र पालिकालाई सभ्य बनाउन लगानी बढाउने बताए ।
अनुगमनको क्रममा अधिकांस सामान म्याद गुज्रेका भेटिएको हो । विशेषगरी मैदा र सुजीको पिठो, बालबालिकाले खाने मिठाइ, मसला, पापड र चाउचाउ म्याद गुज्रेको भेटिएको हो । जंकफुडलाई लापरबाही रुपमा बिक्री गरेको भेटिएको हो भने कतिपय खाद्यवस्तु २ वर्षअघिनै म्याद सकिंदा पनि पसलमै राखेको भेटिएको हो ।





