बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

लेबनन कसले चलाउँछ, हिज्बुल्लाहसँग कस्तो शक्ति छ ?

लेबनन कसले चलाउँछ, हिज्बुल्लाहसँग कस्तो शक्ति छ ?


  • जेरमी होवेल
  • असोज २१ २०८१, सोमबार

लेबननमा पछिल्ला दुई सातादेखि इजरेलको भीषण क्षेप्यास्त्र हमला हुँदा १,१०० भन्दा धेरै मानिसहरूले ज्यान गुमाएका छन् भने लेबननको भूमिमा इजरेली फौजले कब्जा जमाएका छन् । यो अवस्था लेबननको एउटा राजनीति दल तथा लडाकु समूह हिज्बुल्लाह र इजरेल बीचको द्वन्द्वका कारण आएको हो ।
हिज्बुल्लाह लडाकु समूह लेबननको राष्ट्रिय सेनाभन्दा बढ्ता शक्तिशाली छ । उक्त समूहलाई खासगरी त्यहाँका सिया मुस्लिमहरूको व्यापक साथ रहेको छ । यो औपचारिक रूपमा कुनै राज्यको सङ्गठन होइन । तर लेबननमा पछिल्ला चार दशकमा उक्त समूह व्यापक दबदबा भएको शक्तिका रूपमा स्थापित छ ।

लेबननलाई कसले चलाउँछ ?
लेबननका राजनीतिक शक्तिहरू त्यहाँका विभिन्न धार्मिक समूह र सम्प्रदायबीच विभाजित छन् । फ्रान्सबाट स्वतन्त्र हुँदा सन् १९४३ मा सहमति गरिएको एउटा सन्धिअनुसार त्यहाँका राष्ट्रपति मेरोनाइट सम्प्रदायका इसाई, प्रधानमन्त्री सुन्नी मुस्लिम समूहका र सभामुख सिया मुस्लिम समूहका हुनुपर्छ ।
यसले लेबननमा उतिबेलाको विभिन्न धार्मिक समुदायको तुलनात्मक आकार झल्काउँछ । त्यसबेला इसाईहरूको जनसंख्या सुन्नी र सिया मुस्लिमभन्दा धेरै आधाभन्दा बढी थियो । यद्यपि धेरैले यतिखेर उक्त सन्धिको औचित्य सकिएको ठान्छन् ।
अहिले त्यहाँ इसाईहरूको जनसंख्या सिया र सुन्नी मुस्लिमहरूको जनसंख्याभन्दा ३० प्रतिशतभन्दा केही बढी मात्र रहेको अनुमान गरिएको छ । उक्त सन्धिअनुसार इसाई र मुस्लिमको संसद्मा बराबर सीट संख्या हुनुपर्छ । यद्यपि लेबनन हाल मुस्लिमबहुल देश बनेको छ । व्यवहारमा भने लेबननमा कुनै एउटा दल वा धार्मिक सम्प्रदायले समग्र शक्ति हासिल गर्दैन । संसदीय गठबन्धनसाथ सरकारहरू बन्छन् र ठूला निर्णयहरू सहमतिका आधारमा लिइन्छन् । त्यसले प्रायः राजनीतिक रूपमा निष्क्रिय अवस्था उत्पन्न गर्छ ।

लेबननमा हिज्बुल्लाहको हैसियत के छ ?
हिज्बुल्लाह सिया मुस्लिम लडाकु समूहका रूपमा सन् १९८२ मा बनेको थियो । लेबननी गृहयुद्धका बेला सोही वर्ष दक्षिण लेबननमा इजरेली फौजले कब्जा जमाएपछि त्यससँग जुझ्न उक्त समूह तयार पारिएको थियो ।
इरानबाट आर्थिक सहयोग पाएको यस समूहसँग व्यापक अस्त्र छ । अरबीक शब्द हिज्बुल्लाहको अर्थ “ईश्वरको दल” भन्ने हुन्छ । औपचारिक रूपमा सन् १९८५ मा स्थापना भएको घोषणा गर्दै हिज्बुल्लाहले इरानमा जस्तै लेबननमा समेत इस्लामिक गणतन्त्र स्थापना गर्न चाहेको जनाएको थियो । उसले दक्षिण लेबनन र प्यालेस्टिनी भूभागबाट इजरेली कब्जा अन्त्य गर्ने बाचा गरेको थियो ।

लेबनन र आसपासका क्षेत्र
सन् २००९ मा उसले जारी गरेको नयाँ घोषणापत्रमा इस्लामिक गणतन्त्र स्थापनाको कुरा उल्लेख छैन । तर आफू इजरेलविरुद्ध रहेको कुरामा उक्त संगठन अडिग छ । सन् १९९० मा लेबननी गृहयुद्ध अन्त्य हुँदा सबै युद्धरत पक्षले आफ्ना लडाकु समूह भंग गरे पनि हिज्बुल्लाहले त्यसलाई कायमै राख्यो ।
उसले देशको दक्षिणमा इजरेली कब्जाविरुद्ध लड्न आफ्नो भूमिका आवश्यक रहेको भन्दै त्यसलाई भंग गरेन । सन् २००० मा इजरेल अन्ततः उक्त क्षेत्रबाट पछि हट्यो र हिज्बुल्लाले त्यसलाई जितका रूपमा दाबी ग¥यो । सन् १९९२ देखि हिज्बुल्लाहले संसद्का लागि आफ्ना उम्मेदवार अघि सार्न थालेको थियो ।
अहिले लेबननको संसद्मा हिज्बुल्लाहका कैयौँ सांसद र सरकारमा मन्त्रीहरू पनि छन् । उक्त समूह लेबननका अधिकांश सिया समुदायको बसोबास रहेको क्षेत्रमा शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा संलग्न छ । लेबननमा अन्य दलहरूले समेत आफ्ना प्रभाव क्षेत्रमा त्यस्ता सेवा प्रदान गर्ने भए पनि हिज्बुल्लाहको सञ्जाल त्यस्ता कार्यमा व्यापक रहेको ठानिन्छ ।

हिज्बुल्लाह कसरी शक्तिशाली बन्यो ?
हिज्बुल्लाहका लडाकुहरू संसारमै सबैभन्दा शक्तिशाली गैरराज्य पक्षका सैनिक मानिन्छन् । लेबननमा हिज्बुल्लाह त्यति धेरै शक्तिशाली हुनु पछाडिको एउटा कारण उसका लडाकुहरू हुन् । उसले आफ्ना लडाकुको संख्या करिब १ लाख रहेको बताए पनि स्वतन्त्र अनुमानमा उक्त संख्या २० हजारदेखि ५० हजार बीचमा रहेको ठानिन्छ ।
अस्त्रका हिसाबले समेत हिज्बुल्लाहसँग १,२०,००० देखि २,००,००० लाख बीचमा रकेट र क्षेप्यास्त्र रहेको अमेरिकी थिङ्क ट्याङ्क द सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरन्याश्नल स्टडिज्ले जनाएको छ । हिज्बुल्लाहका लडाकुहरू लेबननका राष्ट्रिय सैनिकभन्दा निकै शक्तिशाली मानिन्छन् । उक्त समूहले लेबननको राष्ट्रिय सरकारको कमजोरीको लाभ उठाइरहेको छ ।
उदाहरणका लागि राजनीतिक दलहरू सहमतिमा आउन नसकेकै कारण सन् २०२२ यता त्यहाँ राष्ट्रपति छैनन् । केन्द्र सरकार हिज्बुल्लाहलाई उसकै आफ्नै मुद्दामा अगाडि बढ्नबाट रोक्न सक्ने गरी बलियो छैन ।
–बीबीसी विश्व सेवा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->