बागलुङ/जिल्लाका मुख्य नाकामा २४ सै घण्टा सेवा दिनेगरी चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाका मुख्य तीन नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
यात्रुलाई पर्न सक्ने असुविधालाई मनन् गर्दै लामो तथा छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस् भनेर सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक सुमन निउरेले जानकारी दिए ।
बागलुङ नगरपालिका १ को मालढुंगा, गलकोटको हटिया र बुर्तिबाङ बजारमा सहायता कक्ष स्थापना गरिएको हो । जिल्लाभित्र चल्ने र बाहिरबाट भित्रिने सवारी साधनमा यात्रा गर्दा यात्रुलाई समस्या पर्यो भने तत्काल समाधान गर्ने काम सहायता कक्षबाट हुने न्यूरेको भनाई छ ।
चाडपर्वको समयमा सवारी भाडाका कारण यात्रु ठगिने, सामान हराउने, क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना हुने जोखिम कम गर्न २४ सै घण्टा सेवा प्रदान गर्ने गरी सहायता कक्षको स्थापना गरिएको हो ।





