पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार चाडपर्व सुरक्षा योजनाअन्तर्गत कास्की–तनहुँ नाकामा कुकुरसहितको सवारी चेकजाँच गरेको छ । चाडपर्वको समयमा कास्कीमा लागुऔषध, बिस्फोटक पदार्थ (पटका) भित्रिन सक्ने र यात्रुहरु चोरीको सिकार हुन सक्ने भन्दै चेकजाँच गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले चाडपर्वमा नागरिकलाई सुरक्षित गन्तव्यमा पु¥याउनका लागि सवारी जाँच गरेको सुनाए । ‘हामीले दशैँ तिहार सुरक्षा योजना भनेर एकीकृत सुरक्षा योजना १५–२० दिन पहिला नै जिल्ला सुरक्षा समितिमार्फत् नै पास गरेर कार्यान्वयन गर्ने चरणमा छौं । त्यो चरण अन्तरगत आज हामीले कुकुर सहितको (डग स्मेलिङ) सवारी चेकिङ कार्यक्रम गरेका छौं । यो चेकिङमा हामीले विशेषगरी पोखरामा दशैँ तिहारमा भित्रिन सक्ने लागुऔषध र तिहारको लागि आउन सक्ने विष्फोटक पदार्थ पटकाहरु भित्रिन्छन कि भन्ने आशंकाले गरेका हौं,’ उनले भने, ‘अहिले तीनवटा कुकुरहरु छन् । जति पनि पोखरा भित्रिने सवारी छन तीनको हामीले चेकिङ गरिरहेका छौं ।’
कास्कीमा हाल तीन महिने अभियानसमेत चलाएको छ । जसमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु समेत चलाइएको छ । एक हप्ता अघि मात्रै ४५ हजार बढी ट्याब्लेट बरामद भएको सुनाउँदै डिएसपी शर्माले पहिला गाँजा बढी बरामद हुँदै गर्दा हाल औषधिजन्य लागुऔषध भेटिएको सुनाए । प्रहरी एक्लैले लागुऔषध जरैबाट फाल्न नसक्ने र यसका लागि नागरिकको सहयोग अत्यावश्यक रहेको सुनाए ।
चाडपर्वको समयमा घर छाडेर जाँदा छिमेकी वा नजिकैको प्रहरीलाई सम्पर्क गरी जानसमेत उनले अनुरोध गरे । घर खाली भएको समयमा चोरीको घटना बढ्ने भएकाले आफु सचेत भइ प्रहरीलाई खबर गरे सोही अनुसार सुरक्षा दिने बताए ।





