बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दशैंको टीकाको दिन पोखरामा निशुल्क बस सेवा संचालन हुने

दशैंको टीकाको दिन पोखरामा निशुल्क बस सेवा संचालन हुने


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८१, बुधबार
oplus_2

पोखरा/ पोखरा महानगरभित्रको बढी जनघनत्व भएको ठाउँमा वडादशैंको टीकाको दिन निशुल्क रुपमा सार्वजनिक यातायात सेवा संचालन हुने भएको छ । कास्की जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी कम्पनी र पोखरा महानगरपालिकाको समन्वयमा पहिलो पटक यस्तो सेवा दिन लागेको हो ।

पोखरा महानगरपालिकामा जनसंख्याको आधारमा धेरै जनताहरुको बसोबास रहेकाले दशैंका दिनमा अन्य दिनको तुलनामा सार्वजनिक सवारीका साधनहरु कम चल्ने भन्दै प्रशासनले उक्त दिन यातायात सेवामा थप सहजता ल्याउनका लागि यस्तो सेवा दिन लागिएको जनाएको छ । प्रशासनका अनुसार पोखरा महानगरपालिका भित्रका ७ रुटमा १८ वटा बसहरु बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म निशुल्क रुपमा संचालन हुनेछन् ।

पृथ्वी राजमार्ग बस कम्पनी प्रालिले फेदी, हेम्जा, हरिचोक, पृथ्वीचोकसम्म ३ वटा बस चलाउने छ । यसैगरी स्थानीय यातायात कम्पनीका २ वटा बस तनहुँ सीमा कोत्रेदेखि पृथ्वीचोक, चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म सेवा दिनेछन । यसैगरी पोखरा यातायात प्रालिले लामाचौर, बगर, महेन्द्रपुल, बिरौटा हुँदै छोरेपाटनका लागि ३ वटा बस, महेन्द्रगुफा, महेन्द्रपुल, चिप्लेढुंगा हुदै लेकसाइड ३ वटा र काँहुखोला, पृथ्वीचोक हुदै हल्लनचोक रुटमा ३ बसमार्फत सेवा उपलब्ध गराउने बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । त्यस्तै बेगनास पोखरा यातायात प्रालिले बेगनासताल, तालचोक, पृथ्वीचोक हुदै बागलुङ बसपार्कमा २ र राजाको चौतारा, सातमुहाने, खुदी हुँदै बागलुङ बसपार्कसम्म २ वटा बस चलाउने छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले टीकाको दिन सवारी साधन नचल्ने अवस्थालाई मध्यनजर गर्दै ठूलो जनसंख्यालाई प्रतिनिधित्व हुनेगरी पोखरा बजारभित्र यस्तो सुविधा उपलब्ध गराउन लागिएको बताए । सरकारी क्षेत्रबाट सेवा दिने तयारी भइरहेको बेला यातायात व्यवसायीले सहयोग पुराएको उनले उल्लेख गरे । ‘निशुल्क बस सेवा लेखेको ब्यानरसहित १८ वटा बसले सेवा उपलब्ध गराउने छन । बृद्धबृद्धा, ज्येष्ठ नागरिक, अपांग र अशक्तलाई प्राथमिकतामा रहनेछन’ प्रजिअ पाण्डेले भने, ‘आवस्यकता भएमा ४ बजेपछि पनि सेवा बिस्तारगर्न सकिने छ ।’ यो पहिलो प्रयास भएको र यसको अनुभवको आधारमा आगामी वर्ष ग्रामीण क्षेत्रमा समेत सेवा बिस्तारको योजना रहेको प्रजिअ पाण्डेले बताए । ‘जनघनत्व भएको ठाउँलाई केन्द्रीत गरिएको हो’ उनले भने, ‘आगामी वर्षमा ग्रामीण क्षेत्रमा जान सकिने नसकिने पनि अध्ययन गर्नेछौ ।’

सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले प्रशासनले टिकाको दिन कम्तीमा पोखरा महानगरभित्र मात्र भए पनि कसरी प्रभावकारी रुपमा यातायात सेवा संचालन गर्ने भन्ने विषयमा छलफल गर्ने क्रममा यातायात व्यवसायीले स्वतस्फुर्त रुपमा सहयोग गर्न तयार रहेको बताए । नेपाल यातायात व्यवासायी महासंघ गण्डकीका संयोजक केदार पौडेलले असहज अवस्था रहँदारहँदै पनि सामाजिक उत्तरदायित्व बहन गर्दै राज्यलाई सहयोग गरिएको बताए ।

चाडपर्वको समयलाई मर्यादित र सुरक्षित बनाउन चाडबाडकेन्द्रीत सुरक्षा योजना पनि प्रशासनले ल्याएको प्रजिअ पाण्डेले बताए । कुकुरसहितको चेकिङ, बजार अनुगमनलाई तिब्रता, सवारी चेकजाँच, बिहान देखि साँझैसम्म यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको उनले बताए । अन्य समयमा भन्दा सुरक्षाका दृष्ट्रिकोणले आवस्यकता ठानिएको बखतमा बाहेक जनतालाई थप हैरानी नहोस् भन्ने कुरालाई पनि विशेष जोड दिंदै सुरक्षा योजना र नियमनका संयन्त्रहरु तयार गरेको उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->