पोखरा/ पोखराको नयाँ बजारमा वि.सं. १९१५ सालमा स्थापित चण्डीमाई देवीको मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने प्रयास थालिएकोे छ ।
तत्कालीन समयमा हालको नयाँबजारस्थित क्षेत्रीय संग्रहालय र ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयको कार्यालय रहेको स्थलमा गलैंचाको बोटमुनी पुर्खाहरूले चण्डीमाई मन्दिरको स्थापना गर्नुभएको चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले जानकारी दिए ।
तत्कालीन समयमा स्थापना भएको मन्दिर तीनपटकसम्म स्थानान्तरण भएको जानकारी दिदै उनले स्थापनाको केही समयपछि नयाँबजारकै हाल अख्तियारको कार्यालय रहेको स्थान हुदै अहिलेको दरबारथोकस्थित चोकमा ल्याइएको बताए । मन्दिरमा रहेको शिलालेख अनुुसार वि.सं. १९१५ सालमा स्थापना गरिएको र वि.सं. २०२५ सालमा जि.मु.जीतबहादुर भुजेलको सक्रियतामा निर्माण गरिएको उल्लेख छ । उक्त मन्दिर जीर्ण भई नयाँ निर्माणका लागि २०५३ मा समाजसेवी बुद्धिबहादुर खवासबाट शिलान्यास गरी २०५४ सालमा अध्यक्ष तेजबहादुर भुजेल (मगर) बाट चण्डीमाई देवीको मूर्ति स्थापना गरिएको र तत्कालीन वडा अध्यक्ष विष्णुप्रसाद बास्तोलाले उद्घाटन गरेका थिए । ‘वरपरको वस्ती, तत्कालीन आवश्यकता आदिका आधारमा मन्दिर स्थानान्तरण भएको हुनसक्छ,’ उनले भने, ‘पोखराको पुरानो मन्दिर भएर पनि यसको प्रवद्र्धन हुन नसक्दा चर्चामा आउन सकेको छैन ।’
श्रद्धाभक्तपूर्व दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण आसपासका स्थानबाट भक्तजनहरू पूजाआजाका लागि आउने गरेको उनले जनाए । मन्दिरको ऐतिहासिकतालाई प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यहाँको विकास गर्ने दीर्घकालीन सोच रहेको उनको भनाइ छ । मन्दिरमा स्थापनाकालीन शिलाको मूर्ति हालसम्म पनि रहेको छ । प्रत्येक वर्षको बैशाख १ गतेका दिन सामुहिक कल्याणको कामना गर्दै बोकाको बलि सहित चण्डी देवीको पूजाआजा गरिने उनले बताए । मन्दिरमा नियमित पूजा हुन्छ । मन्दिरमा २८३ जना आजीवन सदस्य रहेका छन् भने चार जना मानार्थ सदस्य छन् ।
मन्दिर परिसरमा भवन लगायत पूर्वाधार निर्माणका लागि वडा कार्यालयबाट पटकपटक गरी २९ लाख, १५ लाख हुँदै यस आर्थिक वर्षमा १० लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भुजेलले जनाए ।





