बागलुङ/जिल्लालाई चिरेर पश्चिम जोड्ने मध्यपहाडी राजमार्ग बागलुङमा मात्रै १४२ किमी छ । यो सडक बनेपछि पश्चिम बागलुङबासीले बजारसंग जोडिन पाएका छन् । तीन दिनसम्म हिंडेर यात्रा गर्नुपर्नेहरु गाडी चढेर सदरमुकाम आउन सक्छन् ।
तर सहज वातावरण बन्दै गर्दा पुराना बजार भने लोप भएका छन् । पैदलयात्रीले गर्दा होटल, किराना, फेन्सी लगायतका पसल चलेर गुल्जार रहेका ती बजार आजकल सुनसान बनेका छन् । ती बजारमा अहिले घरघरमा ताला लगाइएका छन् । कति घर भत्किइसकेका छन् भने कतिले बसाइ सरेका छन् ।
बुर्तिवाङ जाने सडकमै पर्ने खार बजार अहिले रित्तो र सुनसान छ । त्यहाँका दर्जनबढी होटलले खाना खुवाउने गरेका थिए भने बास बस्ने, किनमेल गर्ने समेतको घुइचो हुने गरेको बुर्तिवाङस्थित उत्तरगंगा माविका पूर्व प्रधानाध्यापक जगन्नाथ आचार्यले बताए । कैयौ पटक खारमा बास बसेको आचार्यले स्मरण गरे ।
खार बजार मात्र हैन, पैदल यात्रामा रहेका कांडेबास, नरेठाँटी, घोडाबाँधे र दोबिल्ला लगायतका दर्जनबढी पुराना बजार अहिले अस्तित्वको खोजीमा छन् । सडक मार्गले पुराना पैदलमार्ग र बजारको महत्व बिस्तारै लोप हुँदै गएको आचार्यको अनुभव छ । ‘बागलुङको बुर्तिवाङ, निसी, तमानसहित १७ गाउँ पन्चायतको किनमेल गर्ने खार बजार अहिले लोप जस्तै भए’ आचार्यले भने, ‘खार त जलजला र रणसिंकिटेनीका किसानले बनाएका डोकाडाला, मान्द्राको किनमेल हुने गरेको थियो ।’ स्थानीय उत्पादन र अन्य किनमेलको बजारले खार गुल्जार भएकोमा अहिले भने किसानले सामान बेच्न चैतेदशैको मेला कुर्नुपर्ने भएको स्थानीय ज्ञानेन्द्र बलालले बताए ।
पैदल बाटोका दर्जनबढी थकालीको परिवार बिस्थापित भैसकेका छन् भने अन्यले पेशा छाडेका छन् । १ सय २० किमी पश्चिमका नागरिक हिंडेरै सदरमुकाम आउनु पर्दा हुलका हुल मानिसलाई ती स्थानमा खाना पाक्थ्यो । घोडा खच्चरमा खाद्यान ढुवानी गर्नेको पनि लस्कर लाग्दा घाँस र अन्नको दाना समेत बिक्री भएको दोबिल्लाका जब्बरबहादुर लामिछानेले बताए ।
जब २०६० को दशकमा बागलुङ बजारदेखि बुर्तिवाङ सम्मको ग्रामीण सडकको खाका कोरियो, त्यसपछि खारसहित दर्जन बजार ओझेलमा पर्न थालेका थिए । अहिले त मोटरबाटोको ट्रयाक कालोपत्रे भैसकेपछि चार घण्टामा बुर्तिवाङ पुग्न सकिन्छ । रुकुम र जाजरकोट सम्मका मानिस गाडीमा यात्रा गरेपनि पुराना बजारमा रोकिंन छाडेका छन् । बरु नयाँ बस्तीमा आधुनिक होटलले राम्रो व्यापार गर्न थालेका छन् । घोडाबाँधेमा रहेको बजार त पुरै बन्द भएर सेनाको व्यारेक बसेको छ ।
नरेठाँटी बजार पनि सडकबाट ओझेल छ । वडा नं. २ को कार्यालय भएर पनि किसानले कृषिजन्य वस्तु बेच्न हटिया पुग्नु पर्छ । सडकको ट्रयाक खुलेकोले नियमित जिप समेत चल्न थालेको यो बजारलाई छाडेर लोकमार्ग मल्म र रिघातर्फबाट लागेपछि मानिस जान छाडेका छन् । लोकमार्गकै कारण काठेखोला ५ को दहपानी, गलकोटको हरिचौर, पचुवा लगायतका धेरै स्थान पनि सुनसान बनेका छन् ।
पैदलयात्री बास बस्ने भञ्ज्याङ र देउराली रित्तो बन्दा बाजा बजाउने, गीत संगीतमा लाग्ने कलाकार पनि लोप भएको लोकवार्त परिषदका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाले बताए । स्थानीय तहले आफ्नो क्षेत्रका पुराना बजारलाई कुनै कार्यक्रममार्फत उजागर गर्न सकेमा पुराना संस्कृति लोप हुनबाट बचाउन सकिने उनले बताए ।





