बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

धौलागिरी हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव संकलन सुरु

धौलागिरी हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव संकलन सुरु


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०८१, बुधबार
फाईल तस्बीर ।

म्याग्दी / धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव संकलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका पर्वतारोहीको शव उठाउन थालिएको हो ।

एयर अल्टिच्युडको हेलिकोप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँचजना शेर्पाको टोली शव उठाउन खटिएका छन् । घटनास्थलबाट इटाली आधार शिविरमा आज बिहान ११ बजेसम्म एकवटा शव झारेका र अन्य शव संकलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको प्रनाउ श्रेष्ठले बताए ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार ६ सय मिटरको उचाइबाट यही असोज २१ गते दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रुसी अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकोप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरू हेलिकोप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।

आई एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ रुसी पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतरोहीले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकोप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->