पाेखरा/ ‘अपराध रोक्ने सङ्कल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान’ भन्ने नारासाथ नेपाल प्रहरीले मनाईरहेको ६९ औं प्रहरी दिवस गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा बुधवार सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सिमित साधनस्रोतका बाबजुद गण्डकी प्रदेशमा नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताए । देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताउदै मुख्यमन्त्री पाण्डेले नेपालमा जहानीय राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै प्रहरी संगठनको ऐतिहासिक गरिमा र महत्व रहेको उल्लेख गरे । प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आफूलाई उत्तिकै सक्षम बनाएको उनले बताए ।
कार्यक्रमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिहले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताइन् । सिंहले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको शुभकामना सन्देश समेत बाचन गरेकी थिइन् ।
कार्यक्रममा उच्च अदालत पोखराका माननीय मुख्य न्यायाधीश डा।रतन बहादुर वागचन्द, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा।गणेशमान गुरुङ, पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल लगायतको उपस्थिति रहेको थियो ।





