बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निराशाकाबीच आशा देखिरहेका सुन्तला व्यवसायी चित्रबहादुर

निराशाकाबीच आशा देखिरहेका सुन्तला व्यवसायी चित्रबहादुर


  • रिना थापा
  • कार्तिक १ २०८१, बिहिबार

पोखरा / असोजको अन्तिम साता स्याङ्जाका सुन्तला व्यवसायी चित्रबहादुर पराजुलीको घर पुग्दा उनी व्यस्त थिए । सुन्तला बारीमा बाँदर धपाउन । हस्याङफस्याङ गरेर आँगन छेउ आइपुग्दै साउती मार्दै उनले भने- ‘बाँदरको समस्या छ । किसानले गरेर खाने वातावरण त बनेन यसलाई राज्यले कसरी सम्बोधन गर्छ ?’

सुन्तलाको लागि चिनिएको स्याङ्जाको करेनडाँडामा पराजुलीको पुर्खादेखिनै सुन्तला खेती गर्छन् । बाबाले बनाएको सुन्तलाबारीलाई बढाएर उनले ठुलो बनाएका छन् । गत वर्ष सुन्तलाबाट पराजुलीले १२ लाख बढी आम्दानी गरे । करेनडाँडाबाट गतवर्ष सुन्तलाबाट धेरै आम्दानी गर्ने उनै हुन् ।

पराजुलीले सानैदेखि बाबा सुन्तलाबारीमा काम गरेको देख्थे । उनलाई उत्सुकता लाग्थ्यो बच्चा रहँदा सुन्तलाको नर्सरी देख्दा । ४५ भन्दा बढी भयो उनको घर आँगनमा सुन्तला फुल्न थालेको । ९ वर्षको छँदादेखि उनले पनि सुन्तलाबारीमा रुची देखाएका हुन् । बीचमा भने उनी जागिरे भए । १८ वर्ष नेपाल आर्मीमा प्राविधिक हल्दारको रुपमा जागिरे भएर अवकाश पाएपछि चित्रबहादुरले बाबाको व्यवसायलाई सम्हालेका हुन् ।

‘प्रकृतिले दिएको देन परापूर्वकालदेखि सुन्तला लगाउने ठाउँ उर्वरा भएको हुनाले यसलाई निरन्तरता दिएँ,’ उनले भने । नेपाल आर्मीबाट अवकाश भइसकेपछि उनीसँग आम्दानीको बाटोका लागि अन्य बाटोपनि खुल्ला थियो । वैदेशिक रोजगारीको बाटो खुल्ला रहेपनि उनले सुन्तला व्यवासयमा हात हाल्ने सोच बनाए ।

‘यसलाई मैले निरन्तर नदिने हो भने यो बिग्रेन अवस्था थियो । विदेशमा यो भन्दा धेरै कमाइन्थ्यो । म फर्केर आउँदा सुन्तला हुन्थेन । त्यो भन्दा यो ठिक लाग्छ । छोराछोरीको माया भन्दा सुन्तलाको माया बढी छ,’हाँस्दै उनले सुनाए ।

उनले व्यवसायमा हात हाल्नु अघि उनको बारीमा ६ सय हाराहारीमा सुन्तलाको रुख थियो । त्यसलाई बढाएर उनले ४५ सय पुर्याएका छन् । सुन्तलाको बोटसँगै सानो नर्सरी पनि छ उनको ।

सुन्तलाको रुख बढेपनि उत्पादन उनले सोचे अनुरुप भइरहेको छैन । बाँदरको समस्या उनीमात्र होइन देशभरकै किसानले भोगिरहेको समस्या हो । यो बाहेक सुन्तला व्यवसायीले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका छन् सुन्तलामा ।

‘तीनवर्ष अघि पानी पर्यो सुन्तला सबै झर्यो । त्यतिबेला आधी टिपेर छोडेको थियो डेढ लाख घाटा भयो,’उनले भने । तापक्रममा भएको अदलाबदलीको कारण फलमा असर परिरहेको उनको भनाइ छ । साथै सुन्तलामा लाग्ने रोगले पनि किसान मारमा परेका छन् । जसमध्ये औँसा एक प्रमुख चिन्ता हो ।

‘औँसा आउँछ । त्यसले फुतफुत झर्छ । त्यसको न्यूनिकरणको लागि यो प्रयोग गर्नुपर्छ भनेर राज्यले भन्दैन । पतेरो लाग्छ यसलाई कुन औषधी हाल्ने हो राज्यले भन्दैन । राज्य किसानमूखी होइन पैसामूखि जहाँ अनुदान रकम हात पार्न सकिन्छ त्यहाँ जान्छ,’उनले गुनासो पोखे ।

पाउनुपर्ने किसानले अनुदान नपाएकोमा उनले गुनासो पोखे । किसानलाई सरकारले व्यवस्ता गरेको पराजुलीको आरोप रहेपनि सुन्तला खेती लक्षित गरेर सरकारले कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७३÷२०७४ मा सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत स्याङ्जालाई सुन्तला सुपर जोन घोषण गरेको थियो । १० वर्षे परियोजनाले जिल्लामा सुन्तला खेती बढाउन भूमिका खेलिरहेको छ । कार्यक्रम अन्तर्गत नै पछिल्लो वर्षको तुलनामा सुन्तलाको व्यवसायीक खेती गर्ने किसान बढेका छन् । तर, जिल्लामा सुन्तला लगाउने बढेपनि उत्पादनमा ह्वास आएको छ ।

‘व्यवसायिक किसानहरु बढेका छन् । रोप्ने ट्रेन्ड छ । व्यवासयमा लाग्छन् । नंग्रा खियाउन पर्यो लगनशीलता कम छ । कृषिको ज्ञान छ कसरी सार्न लगाउन पर्छ थाहा छ कसरी प्रयोगमा ल्याउनुपर्छ थाहा छैन,’उनले भने ।

जिल्लाको सुन्तलाले बाहिरी जिल्लामा बजार पाएपनि किसानले भने समस्या भोगिरहनुपरेको छ । शीतभण्डारमा सुन्तला राख्दा सुन्तला बिग्रेर किसानले घाटा व्योहोर्नुपर्यो । २०७९ सालमा पराजुलीले पनि सुन्तला राखेका थिए । सुन्तलाको सिजन सकिएपछि बजारमा पुयाउने भनेर ९४ क्यारेट सुन्तला राखे । राखेका सुन्तला बिग्रियो । घाटा व्योहोर्नुपर्यो । यी समस्याकै बिचपनि किसानहरुले आशा देखेका छन् । जिल्लाका सुन्तला पोखरा, बुटवल, काठडमाडौँ पुग्छन् । पराजुलीको सुन्तला सिधै काठमाडौँ पुग्छ ।

बजार व्यवस्थापन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । स्याङ्जाको सुन्तला चीन निर्यात हुने भनी २०६६ सालदेखि सरकारले विषय निकालेको थियो । सोही वर्ष चीनको एनिमल एण्ड प्लान्ट डिभिजनले जिल्लाको सुन्तला बगँैचामा निरीक्षण समेत गरेको थियो । तर, हालसम्म चीन निर्यात गर्ने योजना सफल भएको छैन । सुन्तलामा भएको औंसाका कारण चीनले हालसम्म सुन्तला निर्यात गर्न नमानेको हो ।

‘मार्केट छ । नेपालको सुन्तला बाहिर जानपर्यो । त्यो हाम्रो कमजोरी होइन राज्यको कमजोरी हो,’असुन्तष्टी जनाउँदै उनले थपे,‘१० वर्ष भइसक्यो । फुट्र फलाई कारण रोकेको छ । चीनले आफनो देशमा यहाँको किरा लगेर फैलाउन त चाहान्न ।’

औंसाको समस्या देखिने थालेको धेरै भइसक्यो । यसलाई न्यूनिकरण गर्न तदरुकता देखिदैन । पहिलाको तुलनामा सुन्तलाको फल सानो भइरहेको छ । जिल्लामा अधिकांश किसानको आर्थिक आम्दानीको श्रोत सुन्तला खेती हो । तर, पछिल्लो समय वर्षेनी समस्यामा देखिन थालेको ।

‘सात आठवटा हालेपछि केजी पुग्थ्यो अहिले सुन्तला कपुरको दाना जस्तो सानो भइसकेको छ । अल्टर फल्न थालेको छ । सेतो ढुसी आएछ । सुन्तलामा कालोपोतो हुँदैनथ्यो अहिले हुन थालेछ । चिल्लो भएपो व्यापारी लाने खाँदापनि हामीले राम्रो खाने हो,’उनले सुनाए ।

समस्याकै बीचपनि उनले वर्षेनी आफनो बारीमा सुन्तलाको बोट बढाएका छन् । सुन्तलामा लाग्ने रोग न्यूनिकरणका लागि सरकारी तवरबाट खासै काम नभएपनि व्यक्तिगत रुपमा उनी लागिरहेका छन् । जानेबुझेका भएकाले उनले विदेशमा हुने कृषिलाई इन्टरनेन्टमा पछ्याउँछ । सबै प्रविधि उपलब्ध नभएपनि उनले आफनो बारीमा न्यूनिकरण हुन सक्ने काम इन्टरनेटमा जाने व्यवहारमा उतार्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->