बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रवि लामिछाने पक्राउको बिरोधमा रास्वपा कार्यकर्ता सडकमा, केन्द्रीय नेताहरुको सम्बोधन

रवि लामिछाने पक्राउको बिरोधमा रास्वपा कार्यकर्ता सडकमा, केन्द्रीय नेताहरुको सम्बोधन


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८१, शनिबार

पोखरा/ आफ्नो पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज पोखराको चिप्लेढुंगामा विरोध प्रदर्शन गरेको छ । लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै सरकारबिरुद्ध नाराबाजीसमेत गरेका थिए । उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाउँदै गुरुङ र पोखरेलको फोटोसहित प्रदर्शन पनि गरे ।


प्रदर्शनलाई सम्बोधन गर्दै रास्वपाका केन्द्रीय नेताहरुले आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन, सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले लामिछानेलाई पक्राउ गरेको दावी गरेका थिए । साथै सहकारीमा अपचलन भएको ८७ अर्बको खोजविन नगर्ने, पीडितको बचत रकम फिर्ता गर्नेतर्फ कुनै पहल सरकारले नचाली राजनीतिक प्रतिशोध साँध्ने काम मात्र गरेको आरोप उनीहरुको थियो । रास्वपा केन्द्रीय उपसभापति डा.स्वर्णीम वाग्लेले अनेक पूर्वाग्रह राखेर एउटा व्यक्ति र पार्टीलाई सिध्याउने खेल रहेको भन्दै यसको राजनीतिक प्रतिवाद गर्ने बताए । ‘व्यक्तिगत ईगोको कारण दुईचार दिन भए पनि लामिछानेलाई थुनौ भनेर सरकार लागेको छ’ उनले भने, ‘देशमा गर्नुपर्ने काम धेरै छन । तर त्यतातिर ध्यान नदिई सरकार राज्यशक्तिको पुरै दुरुपयोग गरेर, अनेक पूर्वाग्रह राखेर एउटा व्यक्ति र पार्टी सिध्याउने खेलमा लागेको छ ।’ दुई तिहाईको सरकारले सबै संवैधानिक निकाय कब्जा गरिरहेको तर न्यायालय कुनै पनि दवाव र प्रभावमा नपर्ने विश्वास आफुहरुको रहेको उनले बताए ।


राजनीतिमा भएको बिकृतिबिसंगति हटाएर एउटा ससंस्कृत राजनीतिको अभ्यास गर्न आफुहरु आएको तर यसलाई निमोठ्न सरकार लागिपरेको उनको भनाई थियो । सहकारी प्रकरणमा लामिछानेको प्रत्यक्ष सहभागिता नरहे पनि प्रतिशोधका कारण आरोप लगाएर पक्राउ गरिएको उनको जिकिर थियो ।


भाटभाटेनीबाट लिएको दानको लेनदेनको आधार केहो ? ललिता निवास, नक्कली भुटानी शरणार्थीलगायत काण्डमा सहभागी अहिलेको मन्त्रीमण्डलमा रहेको भन्दै उनले मैले वा हामीले जे गरे पनि हुन्छ भनेर सरकार वदलाको भावले अघि बढेको बताए । तीस, चालिस वर्षसम्म कुशासन चलाएका दलहरुले आफ्नो असक्षमता लुकाउन यो हतकन्डा अपनाएको आरोप लगाउँदै वाग्लेले भरभराउँदो सुशासनेको अभियान रास्वपालाई सिध्याउन सरकार लागेको बताए ।


रास्वपाका अर्का उपसभापति डिपी अर्यालले पार्टी गठन भएको छोटो समयमै २१ जना सांसद लिएर संसदमा आएपछि ठूलो पार्टीको निद हराम भएपछि अनेक बहाना बनाएर रास्वपा अभियान सिध्याउन प्रतिशोधपूर्ण रुपमा सरकार लागेको आरोप लगाए । संसदीय छानविन समितिले रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न छैनन् भनेको दावी गर्दै उनले गोजीमा रातो पासपोर्ट र ग्रीनकार्ड बोकेकाहरुले नै रास्वपाप्रति पूर्वाग्रही भएको उनको भनाई थियो ।
अर्का नेता मनिष झाले ठूला पार्टीमा राज्यको सम्पत्ति दोहन नगरेको व्यक्ति भेटाउन मुश्किल परेको भन्दै रास्वपामा एकजना पनि नरहेको दावी गरे । उनले देशमा १५ जति बिचौलियाको समुह सक्रिय भएको र त्यो समुहले सरकार, मिडिया चलाएको बताए । दुई तिहाईको सरकारले रगत खोजेको हो भने आफुले दिन तयार भएको उनको भनाई थियो । रास्वपा एउटा अभियान रहेको र एउटा व्यक्तिलाई थुन्दैमा यो नरोकिने पनि उनले बताए ।
सांसद हरि ढकालले ३४ वर्षसम्मको विभिन्न ताण्डव छताछुल्ल भएकाले २०८४ को निर्वाचनमा हार ब्यहोर्नुपर्ने देखेर रास्वपामाथि आक्रमण सुरु गरिएको बताए । अर्का सांसद डा. तोसीमा कार्कीले लामिछानेले सहकारीको रकम हिनामिना गरेको नदेखिएपछि संसदीय समिति गठन गरेर जबर्जस्ती दोषी करार गर्न लागिएको बताईन ।
शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई शनिवार बिहानै पोखरा ल्याइएको थियो । उनलाई स्वास्थ्य जाँच गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आज शनिबार सार्वजनिक बिदा भएकोले आइतबार अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->