
पोखरा/ शुक्रबार पक्राउ पुर्जी जारी भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परे । रातारात लामिछानेलाई पोखरा ल्याइयो ।
शनिवार पोखरामा रास्वपाले आफ्ना सभापति पक्राउको बिरोधमा प्रदर्शन गर्यो । प्रदर्शनमा पार्टीले अपेक्षा गरेअनुसारको उपस्थिति भने देखिएको थिएन । तर पनि आन्दोलनको सुरुवाती दिन भएकाले त्यत्तिको सहभागितालाई कम आंकलन गर्न भने मिल्दैनथ्यो । रास्वपाका नेता कार्यकर्ताले आइतबार पनि बिरोध प्रदशर्न जारी रहने भएकाले पोखरा आउन भनिरहेकै थिए ।
शनिवारको प्रदर्शनलाई आधार बनाएर पनि हुनसक्छ, कास्की प्रशासनले सुरक्षा व्यवस्था कडा बनाए पनि कुनै पनि स्थानलाई निषेधित घोषणा गरेको थिएन । आइतबार नै लामिछानेलाई म्याद थप्न अदालत लानुपर्ने थियो । जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अघिकै शहिद चोकमा विहान १० बजेपछि नै रास्वपाका कार्यकर्ता जम्मा भइरहेका थिए । पोखराकै राष्ट्र बैंक चोकमा सहकारी पीडितको प्रदर्शन पनि हुन थालेको थियो । यस्ता प्रदर्शनमा विभिन्न स्वार्थ समुहको घुसपैठ हुनसक्ने गाँइगँुइ चलेको पनि थियो । सायद यसतर्फ प्रशासन चनाखो थियो होला । रास्वपाले साढे १२ बजे सहिदचोकमा उपस्थितिका लागि अनुरोध गरिरहेको थियो भने सहकारीपीडितले ११ बजे जम्मा हुन भनेका थिए ।

कास्की जिल्ला प्रशासन कार्यालयले शनिवार बिहान सर्वदलिय बैठक राखेको थियो । बैठकमा प्रदर्शनमा संयमित हुन र भिंडभाड नगर्न आग्रह पनि गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सहकारी पीडितसंग पनि छुट्टै भेटेका थिए । तर शनिवारको रास्वपाको प्रदर्शनलाइ कमजोरै ठानेर होला कास्की प्रशासनले भने कुनै पनि क्षेत्रलाई निषेधित तोकेको थिएन ।

सहिदचोकमा रास्वपा कार्यकर्ताको चहलपहल बढिरहेको थियो । नाराबाजीसमेत सुरु भइसकेको थियो । बिहान ११ बजेसम्म प्रदर्शन रोक्न कुनै निर्णय नगरेको प्रशासनले एक्कासी साढे ११ बजेतिर कास्की जिल्ला प्रशासन कार्यालयले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको सूचना जारी गर्यो । जिल्ला अदालत र जिल्ला प्रशासनको चार किलोमिटर क्षेत्र र जिल्ला प्रहरी कार्यालय रहेको गैरापाटन क्षेत्रलाई निषेधित तोकिएको थियो । तर योैं सूचना जारी गर्ने समय ढिला भइसकेको थियो । किनकी निषेधित घोषणा गरिएको क्षेत्रमा रास्वपाका कार्यकर्ताको प्रदर्शन सुरु भइसकेको थियो भने राष्ट्रबैंक चोकमा सहकारीपीडित पनि प्रदर्शनमा उत्रिसकेका थिए । त्यसैले उक्त सूचनाको कार्यान्वयन हुने अवस्था रहेन । त्यसपछि प्रदर्शनस्थलमा सुरक्षाकर्मीको उपस्थितिलाई बाक्लो बनाइएको थियो । प्रहरीले सहिदचोकबाट रास्वपाका कार्यकर्तालाई उक्त ठाउँ छोड्न भनेको थियो भने सहकारीपीडितलाई राष्ट्रबैंक चोकमै रोकेको थियो । रास्वपाका कार्यकर्ताले नाराबाजी गर्दै ठाउँ नछाडेपछि प्रहरी र प्रदर्शनकारीबीच लामै समय धकेलाधकेल भएको थियो ।

दिउँसो साढे १ बजेको समयमा रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालत पुराइयो । घुमाउरो बाटोबाट (लेकसाइ) उनलाई अदालत पुराउँदा रास्वपाका केही कार्यकर्ता कडा सुरक्षाबीच पनि अदालतको गेटमा पुगेर नाराबाजी गरेका थिए । पछि रास्वपा नेताहरुले अदालत अगाडि नाराबाजी नगर्न भन्दै सम्झाएका थिए । रविलाई अदालत लैजानु अघि नै रविपत्नी निकीता र कानुन व्यवसायी अदालत छिरिसकेका थिए । पछि रास्वपाका उपसभापतिद्वयलगायत अन्य नेताहरु पनि अदालतमा छिरेका थिए ।

दिउँसो २ बजेको समयमा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने निर्णय गर्यो र त्यसका लागि प्रहरीको वाटर क्यानल मगाइयो । निषेधित क्षेत्र छाड्न प्रहरीले प्रदर्शनकारीलाई माइकबाट भनिरहेको थियो । तर उनीहरुले टेरेनन् । त्यसपछि प्रहरीले पानीको फोहोरा हानेर प्रदर्शनमाथि हस्तक्षेप गर्यो । त्यसक्रममा प्रदर्शनकारीहरु सडकमै ढल्न पुगे । तर हटेनन् । यसैबीचमा एक बोतल प्रहरीको वाटर क्यानलतर्फ फालियो । घुसपैठ भयो भन्दै ती बोतल फाल्ने युवामाथि निर्घात कुटपीट पनि भयो । रास्वपा कार्यकर्ताले ठाउँ छाडेनन । नाराबाजीमै उत्रिए । प्रहरीले अश्रुग्यास प्रहार गर्यो । अश्रुग्यास प्रहार गर्नेबेला रास्वपा उपसभापति स्वर्णीम वाग्लेलगायत नेताहरु मिडियालाई प्रतिक्रिया दिन लागिरहेका थिए । भिंड घटेन । लाठीचार्ज गर्ने माइकिङ पनि गर्यो प्रहरीले । तर प्रदर्शनकारी हटेनन । लाठीचार्ज भने भएन ।

फेरी पानीको फोहोरा हान्नका लागि वाटर क्यानल ल्याइएको थियो । त्यसक्रममा रास्वपा कार्यकर्ता झनै आक्रोशित भएका थिए । त्यसक्रममा प्रहरीले एक महिलालाई पक्राउ पनि गरेको थियो । साढे २ बजेतिर प्रदर्शनकारीले उक्त स्थान सफाइ गर्दै ठाउँ छाडेका थिए ।
दिनभरको घटनाक्रम हेर्दा सयंमित सुरक्षाकर्मीमात्र भएनन्, प्रदर्शनकारी पनि निकै नै संयमसाथ रहे । सुरक्षाकर्मीको बाक्लो उपस्थितिले पनि काम गरेको होला । तर प्रदर्शनका बेला हुनसक्ने संभावित घटनालाई प्रशासनले बेलैमा बुझ्न भने नसकेको होकी भन्ने लाग्थ्यो । बुझेको भए हिजै निषेधित क्षेत्र घोषणा गथ्र्यो होला नी ?





