बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विरोध होइन साथ चाहन्छन् सहकारी पीडित

विरोध होइन साथ चाहन्छन् सहकारी पीडित

रविमाथि अनुसन्धान गर्न ६ दिन म्याद थप, भीड तितरवितर पार्न अश्रुग्यास र पानीको फोहोरा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८१, सोमबार

पोखरा÷पोखराको सडक दुई दिनदेखि तातिन थालेको छ । दुई दिनयता पोखरामा ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा समेत घन्किन थालेको छ । तर, त्यो नारा सहकारी पीडितले होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले लगाइरहेका छन् । सभापति रवि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याएपछि पार्टीको शीर्षनेता देखी विभिन्न जिल्लाका कार्यकर्तासमेत पोखरामा छन् । शनिबार मानवअधिकार चोकमा विरोध प्रदर्शन गरेका उनीहरुले आइतबार शहीदचोकमा प्रदर्शनी गरे । म्याद थपका लागि अदालत ल्याउने भएपछि कार्यकर्ताले अदालत अघि विरोध गरेका हुन् । रवि लामिछाने निर्दोष रहेको र राजनैतिक प्रतिशोध साँध्नका लागि फसाउने काम प्रधानमन्त्री केपी ओलीको रहेको रास्वपाको नेताहरुको आरोप छ । स्वयम् लामिछानेको जिकिर पनि उही हो ।
रास्वपाका कार्यकर्ता आइतबार निषेधाज्ञामा प्रवेश मात्र गरेनन्,दिनभर निषेधाज्ञा स्थलमै बसी विरोध गरे भने पीडितहरुले निषेधाज्ञामा प्रवेश गरेनन् । उल्टै आफुहरुलाई विरोध नभइ साथको आवश्यकता रहेको बताए ।सूर्यदर्शन सहकारी प्रकरणमा लामिछानेको नाम जोडिँदा प्रहरीले अनुसन्धान गर्दै गर्दा जनतामाथि नै पार्टी खनिनु विश्वकै नमुना भएको पीडितहरुले बताएका छन् । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले जनताको रकम हिनामिना हुँदा रास्वपाले विरोध गर्नु गलत रहेको बताए । उनले दुई वर्षअघिदेखि आफूहरुले विभिन्न पार्टीको ढोका ढकढक्काउँदा चुइक्क नबोलेको तर आज अनुसन्धानका लागि पक्राउ पर्दा विरोधमा उत्रिनु गलत रहेको बताए । लामिछानेमाथि संगठित अपराध कसूर छ । सोही कसुरमा जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ गर्न अनुमति दिएको थियो । आइतबार म्याद थपका लागि जिल्ला अदालतमा लामिछानेलाई हाजिर गराएपछि प्रहरी र रास्वपा कार्यकर्ताबिच धकेलाधकेलसमेत भएको थियो ।
‘नियम बनाउन ठाउँमा तपाईंहरु, सांसद तपाईहरु सदनमा लगेर सहकारी पीडितहरुलाई रकम दिने वातावरण बनाउनुस न । जीबी राईलाई खोज्नेदेखि पक्राउ गरी सम्पत्ति लिलाम गरी हाम्रो बचत फिर्ता गर्ने काम गर्नु त । ल पर्सीबाट हामी तपाईंको पार्टीको झण्डामुनि आउँछौ । गर्ने केही नगर्ने अनि यसो गर्छु र उसो गर्छु भनेरमात्रै हुन्छ ? कहाँकहाँ गर्नुहुन्छ विरोध तपाईंहरु आज पोखरामा भोलि चितवन होला । त्यसपछि बुटबल, काठमाडौं लगायत होला,’ उनले भने, ‘जिवि राईले ६ सहकारी डुबाएको र ती सहकारी भएका जिल्लामा जान पर्नेछ, बरु आएर मिलेर कसरी हुन्छ समस्या समाधान हुन्छ भन्ने कुरा गर्ने, पीडितहरुसँग भेटघाट गर्ने, उहाँ हरुको सांसदले नेताहरुले भेटघाट गर्ने, मिलापत्र गर्न सकिन्छ कि के गर्न सकिन्छ भन्ने कुरा गर्ने हो । अब त यो हाम्रो मात्रै मुद्दाको विषय पनि रहेन । यो त राष्ट्रिय मुद्दा बन्यो । हामीले झोला लिएर आएका छौं । हाम्रो रकम दिनुस आ–आफ्नो बाटो जान्छौँ ।’
रास्वपाको तीन चार सय जनाको हुलभन्दा आफूहरु ४० जनाको समूह बढी रहेको उनको भनाइ छ । उनले रास्वपाले विभिन्न स्थानबाट कार्यकर्ता टिपेर ल्याएको भन्दै आक्रोश समेत पोखेका छन् । लामिछानेलाई थप अनुसन्धानका लागि पक्राउ परेको मितिदेखि ६ दिनको म्याद थप भएको हो । अर्थात ३ दिन अझ हिरासतमा रहनेछन् ।
ओली सबैभन्दा बढी भ्रष्टाचार गर्ने ठहरिन्छन : लामिछाने
म्याद थपका लागि अदालत लगिएको लामिछानेले कास्की जिल्ला अदालतको परिसरमा केपी ओलीको सरकार रहिरहेमा नागरिकले दुःख पाउने प्रतिक्रिया दिए । उनले न्यायलयप्रति आफूलाई विश्वास रहेको र आफूले न्याउ पाउने बताउँदै आफुलाई जसरी डेढ वर्ष लगाएर अनुसन्धान गरे ओली सबैभन्दा बढी भ्रष्टाचार गर्ने व्यक्ति ठहर हुने बताए ।
‘न्यायलयप्रति विश्वास छ तर, केपी ओलिको सरकार रहीरहने हो भने यो देशले धेरै दुःख पाउछ । यो अधिनायकवादी सरकारका विरुद्धमा यही बेलामा देशभरबाट मेरा लागि होइन देशका लागि बाहिर आउन जरुरी छ,’ उनले भने, ‘मलाई जस्ते डेढवर्ष लगाएर छानविन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचार गर्ने केपी ओली नै हुनेछन् ।’ झुटा मुद्दामा मान्छे फसाउने काम निरन्तर चलिरहने र अपराध भइरहेन उनको भनाइ छ ।
पोखराका दुई स्थानमा निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको दुई स्थानमा निषेधाज्ञा जारी गरेको छ । रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउपश्चात पोखरामा रास्वपाका कार्यकर्ता र सहकारी पीडिततहरु फरकफरक विरोधका कार्यम गरेपचि सुरक्षा भङ्ग हुन सक्ने भन्दै आइतबार विहान ११ बजेर ४५ मिनेट देखी निषेधाज्ञा जारी गरेको हो । जिल्ला अदालत रहको स्थानमा चार किल्ला क्षेत्र घोषणा गरी निषेधाज्ञा जारी गरेको हो । शहिदचोक आसपासको क्षेत्र पुर्वतर्फ वाईचोक (उत्तरतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेलगेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङचोक (दक्षिणपश्चितर्फ पर्यटन बोर्डको कार्यालय अगाडीसम्म) निषेधाज्ञा जारी गरेको हो । यस्तै पोखरा ४ गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय कास्की मातहातको क्षेत्र पालिखेचोकदेखि नविन माविसम्मको सडक क्षेत्रलाई निषेधाज्ञा क्षेत्र घोषित गरिएको हो । निषेधाज्ञा जारी गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हलु दङ्गा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरि अको आदेश जारी नभएसम्मका लािग निषेधाज्ञा जारी गरिएको छ ।’ निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भइ अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->