मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

साझेदारीको योजनामा पालिकालाई भार

साझेदारीको योजनामा पालिकालाई भार


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८१, सोमबार

बागलुङ/नियमति काम गरेको भए दुइ वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको छ । ढिलाइ हुँदा संघीय साझेदारीको रकम नआएपछि काम सक्ने दायित्व गाउँपालिकामा सरेको छ ।
पालिकामा बजेट छैन, जसका कारण काम कहिले सकिने भन्ने अन्यौल छ । सरर कालोपत्रे बन्नुपर्ने सडक खाल्डैखाल्डा भएको छ । कालोपत्रे भैसक्नुपर्ने मुख्य खण्डको पनि एकचौथाई काम समेत पूरा भएको छैन ।
काठेखोला गाउँपालिका वडा नंं ६ देखि ७ जोड्ने एकपाटे, रेश, बौर सडक ठेकेदारले अलपत्र पारेपछि स्थानीयले समेत यात्रामा सास्ती खेपेका छन् । तोकिएको समय सकिएर दुइपटक म्याद थप गर्दापनि ठेकेदारले अलपत्र छाडेको हो । ‘जोशी, निसान, आचार्य संयुक्त निर्माण कम्पनी’ले २०७७ सालमा २ वर्षभित्र काम सक्ने गरी ६ करोड ६८ लाखमा ४ दशमलब ६ किमी सडक कालोपत्रे र ढलानगर्ने ठेक्का लिएको हो । विभिन्ना बाहना बनाएर ठेकेदार कंपनीले काम अलपत्र बनाएको हो । लामो समय काम नभएपछि स्थानीयले आउजाउ गर्नपनि सास्ती खेपेका छन् ।
यो सडक खण्डको १ किमी खण्ड मात्रै ढलान भएको इन्जिनियर बिनोद लामिछानेले बताए । चार वर्ष बितिसक्दा ठेकेदार कंपनीले ५० प्रतिशत अर्थात ३ करोड रुपैयाँ भुक्तानी लगेका छन् । सोही अवधिमा काम भने २५ प्रतिशत मात्रै सकिएको हो । तोकिएको समयमा काम नसकेपछि संघीय समपुरक रकम फिर्ता भएको गाउँपालिका उपाध्यक्ष तिलक थापाले बताए । ‘यो काम गर्न संघीय सरकारको ५० र स्थानीय तहको ५० प्रतिशत लगानी गर्ने शर्त हो, ठेकेदारको लापरबाहीले संघीय रकम डेढ करोड मात्रै प्राप्त भयो,’ थापाले भने, ‘अब बााकी ३करोड ६८ लाख गाउँपालिकाले एकल लगानी गर्नुपर्ने बाध्यता आइलागेको छ ।’ सानो विकासे रकममा काम गर्नुपर्ने गाउँपालिकालाई यो रकम चुक्ता गर्न चुनौती भएको उनले बताए ।
ठेकेदारले तेस्रो पटक आगामी मंसिर मसान्तसम्मका लागि म्याद थप गराएका छन् । तर, त्यतिन्जेल पनि यो सडक पूरा हुने संभावना छैन । ‘काम धेरै छ, तर तोकेकै समयमा सकिंदैन, अब थप व्यवस्था गर्नुपर्छ’ लामिछानेले भने, ‘पालिकाले बजेटको व्यवस्थापन गरेपछि मात्र यो काम पूरा होला ।’ एकपाटेदेखि बौरसम्म १४ किमी सडक छ । त्यो मध्येको ४ किमीमै चार वर्षसम्म काम पूरा नभएपछि बौर सम्म पुग्ने सडक कहिले बन्ने भन्ने अन्यौल भएको हो । वडाध्यक्ष प्रेम लामिछानेले पनि यो सडक सक्ने चुनौती भएको बताए । पटक–पटक ठेकेदार कंपनीलाई ताकेता गरे पनि काम ढिला हुँदा बजेटमा समेत समस्या आएको उनले बताए ।
ठेकेदारले समयमा काम नगर्दा धेरै योजनाहरुमा यस्तो असर परेको अध्यक्ष राजु थापाले बताए । सिमित श्रोतबाट थालेको काम अलपत्र पर्दा पालिकालाई ठूलो नोक्सानी हुने गरेको उनले बताए । ‘दुवैतर्फको बजेटबाट सकिन्छ भनेर आँटेको काम पूरा गर्न र श्रोतको व्यवस्थापन गर्न धेरै सास्ती खेप्नु परेको छ,’ थापाले भने, ‘प्रदेश र संघीय सरकारमा हात थाप्न हिड्नुपर्दा अप्ठ्यारो भएको छ ।’
ठेकेदारले समयमा काम नगर्दा बागलुङ बलेवा सडक, ताराखोलाको प्रशासकीय भवनलगायतमा पनि साझेदारीको बजेट अभाव भएको थियो । ती योजनामा स्थानीय तहले एकल लगानी गर्न बाध्य भएका थिए । ठेक्का तोड्दा झन लामो प्रक्रिया लाग्ने र श्रोत सुनिश्चिततामा अन्यौलता हुने भएकोले पालिकाबाट ठेकेदारलाई फकाएर काम गर्न बाध्य भएको वडा अध्यक्ष प्रेम लामिछानेले बताए । ‘काम ढीला भयो, तर श्रोतको अभावले केही गर्न सकेका छैनौं,’ उनले भने, ‘ठेक्का तोड्दा पनि उत्तिकै झन्झट छ ।’ सडक स्तरीय बनाएर भए पनि जनतालाई सहज आउजाउमा सघाउने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->