बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रवि लामिछानेसँग सरकारी वकिल कार्यालयमा लिईयो तीन घण्टा बयान

रवि लामिछानेसँग सरकारी वकिल कार्यालयमा लिईयो तीन घण्टा बयान


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०८१, मंगलबार

पोखरा / सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेसँग मंगलबारबाट बयान लिन सुरु गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर लामिछानेसँग तीन घण्टा बयान लिएका छन्। दिउँसो एक बजेदेखि अपरान्ह चार बजेसम्म लामिछानेसँग बयान लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए।

उनले भने, ‘आजबाट औपचारिक बयान सुरु भएको छ। हिजो विभिन्न बैंकहरूमा पत्राचार गर्ने काम भयो। भोलि बयान गर्ने कि नगर्ने भन्ने सरकारी वकिलसँग सल्लाह गर्छौं। हामीले पत्राचार गरेका बैंक तथा कार्यालयहरूले जवाफ पठाएपछि मागेका विवरण उपलब्ध गराएपछि त्यसमा आधारित भएर पनि बयान लिँदै जान्छौँ। उनको बयान सकिएको छैन। चरण–चरणमा भइरहन्छ।’ लामिछानेको बयान जिल्ला न्यायाधिवक्ता कमला काफ्लेको रोहबरमा भइरहेको छ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत शुक्रबार नै काठमाडौँबाट पक्राउ गरेर कास्की लगेर बुझाएको थियो। शनिबार राति नै पुर्‍याए पनि सार्वजनिक विदाका कारण त्यसदिन अनुसन्धान अगाडि बढेन। उनलाई अदालतमा उपस्थित गराएर म्याद थपको काम पनि बाँकी थियो।

आइतबार लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराउने बेलामा रास्वपाका कार्यकर्ताले अवरोध गरेका थिए। उनीहरूको आन्दोलनका कारण प्रहरीले ढिलो गरी मात्रै अदालतमा उपस्थित गराएको थियो।

आइतबार जिल्ला अदालतले लामिछानेलाई पक्राउ परेको मितिबाट ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ। उक्त म्याद बुधबार सकिँदैछ। तर प्रहरीले बुधबारसम्ममा अनुसन्धान नसक्ने भएको छ। बयान नै बाँकी रहेको प्रहरी अधिकारीहरूले बताए।

‘भोलि नै बयान सकिँदैन। बिहीबार छविलाल जोशीसँगै अदालतमा म्याद थपका लागि फेरि उपस्थित गराउँछौँ। हामीसँग करिब एक महिना समय छ। त्यो समयभित्रमा हामीले सक्नुपर्छ। त्यसपछि अदालतमा मुद्दा लैजान्छौँ। अरु आरोपितहरूलाई पनि पक्राउ गर्ने अनुमति पाएका छौँ। उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने हुन्छ। यसअघि पक्राउ परेका र अब पक्राउ पर्ने सबैविरुद्ध एकसाथ मुद्दा अदालत जाने हो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->