पोखरा/आगामी माघ २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णयसाथ नेपाल समाजवादी पार्टीको दुईदिने प्रथम विधान अधिवेशन पोखरामा मंगलबार सम्पन्न भएको छ । पार्टीको सचिवालय बैठकको निर्णय अधिवेशनले पारित गर्दै उक्त मिति तय गरेको हो । मंगलबारै पार्टीको सचिवालय बैठक बसेको थियो ।
महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ। विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ। विधान प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो। पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ। झन्डा र चुनाव चिन्ह आँखा राखिएको छ ।
अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ। जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन्। निर्वाचन समिति ३३ सदस्यीय हुनेछन्। सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ। पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ। त्यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ।
विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएको छ। आय ७ लाख ५० हजार र व्यय ९ लाख ७७ हजार १६० रुपैयाँ रहेको छ। अधिवेशनमा ७१ जिल्ला र विदेश (६ देश) बाट कूल ५०० प्रतिनिधि उपस्थित थिए।





