पोखरा/ सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई म्याद थपको अनुमतिका लागि आज बिहीबार कास्की जिल्ला अदालत लगिँदैछ ।
लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । यस विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्मासंग सम्पर्क गर्दा उनले फोन उठाएनन । कास्की प्रहरी एसपी श्यामबाबु ओलियाले रवि र छविलाई म्याद थपका लागि आज अदालत लैजाने बताए भने अरु कुरा सूचना अधिकारीसंगै बुझ्नुपर्ने भन्दै तर्किए ।
पूर्वडीआईजी समेत रहेका जोशी असोज ६ मा पक्राउ परेका हुन् । लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि बिहीबार अदालत लगिँदै छ ।





