पोखरा / सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन हिरासतमा राखेर छानविन गर्न अनुमति दिएको हो ।
बिहीबार जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपिनराज तिवारी तथा कानून व्यवसायीहरू युवराज पराजुली र वेदबहादुर विष्टले बहस गर्दै उनीहरूलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरेका थिए ।
लामिछानेकातर्फबाट वरिष्ठ अधिवक्ताहरू नारायण घिमिरे, हरिप्रसाद सुवेदी तथा अधिवक्ताहरू नारायण कँडेल, सांसदसमेत रहेकी सोविता गौतम, पदमराज शर्मा र मधुकुमार चौलागाँईले बहस गरेका थिए । त्यस्तै, जोशीका पक्षबाट अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए ।





