
काठमाडौं / सरकार पक्ष र विपक्षी दलहरुबीच सहमति गरेर नेपाल रेडक्रस सोसाइटीमा नयाँ तदर्थ समिति गठन भएको छ । दलहरुको सहमतीमा रेडक्रसमा हाल क्रियाशील रहेका दुई समानान्तर समितिबीच समायोजन भएको हो । नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भागबण्डा गरेका छन् ।
भगबण्डामा कांग्रेस निकट सुदर्शनप्रसाद नेपाल अध्यक्ष रहनेछन् भने एमालेनिकट चन्द्रकला कार्की उपाध्यक्ष र एकीकृत समाजवादी निकट भूपतिलाल श्रेष्ठ महामन्त्री रहने सहमति भएको छ । पदाधिकारीका सबै दललाई भाग पुर्याउने गरी सहमति गरिएको छ ।
रेडक्रसमा ३३ जनाको निर्वाचित कार्यसमिति र दुई जना मनोनित गरेर बढीमा ३५ जनाको समिति हुने विधानले व्यवस्था गरेको छ । अघिल्लो कार्यकालको अध्यक्ष र समाज कल्याण परिषद्ले तोकेको एक जना गरी दुई जना मात्रै मनोनित गर्ने व्यवस्था छ । विधानको व्यवस्था विपरीत ५६ जनाको तदर्थ समिति बनाइएको छ ।
तदर्थ समितिमा सबैभन्दा ठूलो हिस्सेदारी कांग्रेसले पाएको छ । केन्द्रीय समितिमा कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष, उपमहामन्त्री र सदस्य गरी २५ जना पद पाएका छन् । कांग्रेसबाट पदाधिकारी बन्नेहरुमा प्राध्यापक सुर्दशनप्रसाद नेपाल अध्यक्ष, सुरेन्द्रसिंह ऐन उपाध्यक्ष र मनोजकुमार थापा उपमहामन्त्री बनेका छन् ।
भागबण्डा गर्ने सहमति जुटेपछि एमाले समर्थित पूर्वअध्यक्ष डा. नेत्र तिम्सिनाले अदालतमा पेश गरेको अवहेलनाको मुद्दा फिर्ता लिएका छन् । तिम्सिना अध्यक्ष हुँदा उपाध्यक्षको भूमिकामा रहेकी चन्द्रकला कार्कीलाई सोही पदमा कायम राख्ने सहमति जुटेको छ ।
सत्ताको नेतृत्व गरेको एमालेलाई पदाधिकारीमा कार्यकारी भूमिका भने दिइएको छैन । एमालेबाट कार्यसमितिमा १७ जनाले भाग पाउँदा पदाधिकारीमा कार्की मात्रै छिन् ।
संस्था दर्ता ऐन अनुसार सञ्चालित रेडक्रस समाज कल्याण परिषद् मातहतमा छ । समाज कल्याण परिषद्ले गठन गरेको कार्यदलले नेपाल नेतृत्वको समितिले अनियमिता गरेको ठहर सहित कारबाहीका लागि तालुक मन्त्रालय र प्रहरीलाई पत्राचार गरेको थियो ।





