बागलुङ/दक्षिण बागलुङमा एउटा प्रचलन छ । हरेक घरमा कुनैदेवि देवता सम्झेर धुप राख्ने बेला होस वा पितृ कार्यमा किन नहोस । घरघरमा हरेक अन्नबाली भित्राउने बेला र पारिवारीक रुपमा हुने हरेक शुभकार्यमा किन नहोस यहाँका स्थानीयले सम्झिने देवता हुन् “सिद्ध बराह ।”
दक्षीण बागलुङमा बसोबास गरिरहेका मात्रै होईन यहाँबाट बसाई सरेकालेसमेत सिद्धबराहलाई धुप दिन्छन् । प्रकृतिको मनोरम छटा सामुन्द्रीक सतहबाट २४ सय ७० मिटरको उचाईमा रहेको “सिद्ध बराह” थान सरकारले एक सय पर्यटकीय क्षेत्रमा सूचीकृत गरेको गाजाको दह (रुद्र ताल)को संरक्षक पनी हो । दक्षिण बागलुङका सर्वसाधारणको आस्थाको केन्द्र ।
धार्मिक तथा प्राकृतिक रुपमा मनोरम गाजाको दह सिद्ध बराह क्षेत्रमा बिकास निर्माणका कयौं प्रयासहरु भैरहेका छन् । आफ्नै स्रोत र कोष नहुँदा प्रकृती र आस्था जोडिएको यो क्षेत्रको बिकासका लागि सधैं समस्या हुने गरेको छ । अब भने समस्या समाधानको प्रयास थालिएको छ । सिद्ध बराहको बिकास र गाजाको दहक्षेत्रको प्रचार प्रचासरका लागि जिल्लामै पहिलो पटक झण्डै २५ सय मिटरको उचाईमा महायज्ञको तयारी भैरहेको छ । सिद्ध बराह मन्दिर संरक्षण समितिले आगामि मंसिरमा श्रीमदभागवत ज्ञान महायज्ञको तयारी गरेको हो । सिद्ध राहको जिर्णोद्धार, गाजाको दहक्षेत्रको प्रचार प्रसार र धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणका लागि महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका संयोजक कृष्ण बहादुर भुजेलले बताए ।
“मंसिर ८ देखि १३ गतेसम्म हामी महायज्ञ सञ्चालन गर्दैछौं, राज्यको नजर पुर्याउने, सुसंकृत समाज निर्माण गर्ने लक्ष समेत छ” भुजेल भन्छन् “महायज्ञले सिद्ध बराहको महत्व बुझाउने छ, पौराणीक मान्यता सबैले बुझ्नेछन् ।” दश लाख खर्च हुने अनुमान गरिएको महायज्ञले आम्दानीको भने आँकलन गरेको छैन् । बिहिबार पत्रकार सम्मेलन गरेर मुल आयोजक समितिले महायज्ञ बारे जानकारी गराएको थियो । महायज्ञमा युवा पण्डीत शिवदत्त रेग्मीले कथा बाचन गर्नेछन् ।





