पोखरा/ठ्याक्कै एक साताअघि सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अध्यक्ष रवि लामिछाने कम्तिमा अबको एकसाता पनि प्रहरी हिरासतमा नै रहने छन् । जिल्ला अदालत कास्कीले अनुसन्धानको लागि प्रहरीबाट मागिएको समय प्रदान गरेपछि पूर्वगृहमन्त्री तथा सांसदसमेत रहेका रविको हिरासत बसाइ लम्बिएको हो ।
रविको लागि प्रहरी हिरासतको बसाइ नौलो हैन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा डामिएपछि उनी २०७६ साल साउन अन्तिम साता चितवन प्रहरीको हिरासतमा पुगेका थिए । पुडासैनीले २०७६ साल असार २० गते चितवनको एक होटलमा आत्महत्या गर्नुअघि आफ्नै मोवाइलमा रेकर्ड गराएको भिडियोमा रविमाथि आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए । त्यो बेला रवि न्यूज २४ टेलिभिजनमा काम गर्थे । साउन ३० गते टेलिभिजनको कार्यालयबाटै पक्राउ गरिएका रविलाई जब चितवन लगियो,उनको पक्षमा व्यापक समर्थन देखियो । समर्थकहरु सडकमा आए । रवि त्यो बेला राजनीतिक नेता थिएनन्, उनकै भाषामा संचारकर्मी थिए । तर, समर्थकहरु यसरी सडकमा ओर्लिएक कि, त्यो कुनै राजनीतिक दलका नेताको समर्थनमा भन्दा कम थिएन । १० दिनपछि उनलाई चितवनका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले ५ लाख धरौटीमा छाड्ने निर्णय ग¥यो । हिरासतबाट छुटेपछि समर्थकहरुले उनको जयजकार गरे । नारायणी नदी किनारमा जम्मा भएका समर्थकहरु देखेपछि हुनुपर्छ, रविको मन राजनीतितिर तानियो । अन्ततः उनले पार्टी खोले र चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसदको उम्मेवार बने । २०७९ को चुनाव सहजै जितेसँगै अमेरिकाको बसाइ छाडेर आएका उनी ‘माननीय’ बने । राजनीतिमा सफल भए पनि दोहोरो पासपोर्ट बोकेको अभियोग प्रमाणित भएपछि चाहिँ उनको सांसद पद खारेजीमा प¥यो । तर, रवि हरेश खानेखालका थिएनन् । राजनीतिम माहौल यस्तो बन्यो कि, रविलाई फसाइएको भाष्य निर्माण भयो । त्यो मुद्दाबाट राहत पाएसँगै उपनिर्वाचनमा पनि उनी नै उम्मेदवार बने । जनताको साथ पाए । त्यसपछि त के ? सत्ता समीकरणको खेलाडी बन्दै उपप्रधान तथा गृहमन्त्री नै बने । गृहमन्त्री हुनुअघि नै उनी सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका थिए । पोखरामा रहेका सूर्यदर्शन सहकारी पीडितहरुले रविको नाम नै किटेर दिइएको पूरक उजुरीले सत्तामा भइञ्जेल रविलाई खासै छोएन । नत, सांसद र गृहमन्त्री हुँदा पीडितहरुले भेटेर बुझाएको ज्ञापनपत्रले नै उनलाई जिम्मेवार हुन प्रेरित ग¥यो । प्रहरी तथा पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनलाई उनले नजरअन्दाज गरिरहे । शक्तिशाली गृहमन्त्रालय हुँदैमा नेपाली कांग्रेस जाग्यो । सहकारी प्रकरणको छानबिन हुनुपर्ने माग संसदमै उठ्यो । रस्साकस्सीबीच संकटग्रस्त सहकारीको छानबिनका निम्ति संसदीय विशेष समिति बनाउने निर्णय भयो । तत्कालीन सत्तापक्षीय सांसद सूर्य थापा नेतृत्वको सो समितिमा रास्वपाका सांसद शिशिर खनाल सदस्य बने ।
छानबिन समिति काम गर्दै थियो,एकाएक रवि सत्ताबाट बहिर्गमित बने । संसदीय विशेष समितिले प्रतिवेदन तयार पा¥यो । त्यसमा रास्वपा सांसद खनालले पनि सहमति जनाए । एमाले अध्यक्षका रुपमा हिजो ‘दाहिना’ भएका प्रधानमन्त्री केपी ओलीले नै संसदमा उभिएर ‘सहकारी ठग’लाई नछाडिने अभिव्यक्ति दिए । सरकारले संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै सहकारी ठगीमात्र नभएर रविविरुद्द संगठित अपराधको अभियोग लाग्यो ।
कानून अनि विवादास्पद विगतले मान्छेलाई त्यत्तिकै छाड्दैन । मौका परे ङ्याकी पनि हाल्छ । रविको हकमा भएको यही हो । लोकरिझ्याइँवादको बुइ चढेर ‘माननीय’ बनेका रविलाई समयले आफ्ना कमजोरी सच्याउने मौका दिएको थियो तर उनले त्यसलाई नजरअन्दाज गरे । न्यायीक निरुपणलाई भन्दा आफ्नो पछाडि लागेको भीडलाई विश्वास गरे अनि त्यही शक्तिले आफ्नो ‘नाउ’ पार लगाइदिने विश्वासमा परे । यो भ्रमबाट अहिले पनि उनी मुक्त छैनन् । सहकारी प्रकरणमा पक्राउ पर्नुअघि नै समर्थकलाई सडकमा उत्रन आह्वान गरे । जसै पक्राउ परे, सिंगो रास्वपाबाट निर्वाचित सांसद र केन्द्रीय सदस्यहरुलाई प्रहरीको गाडीकै पिछा गर्दै पोखरा ल्याए । पुडासैनी प्रकरणमा सडकको शक्ति चिनेका र त्यही शक्तिको सदुपयोग गर्दै राजनीतिक ‘छलाङ’ मारेका रविकै इच्छानुसार पोखराको सडक तताउने प्रयत्न गरियो । आइतबार देशैभर (खासगरी चितवन) बाट आएका कार्यकर्ताले पोखरामा त्यस्तो प्रयत्न पनि गरे । कास्की प्रशासनले लगाएको निषेधाज्ञा तोडे । रविमाथि राजनीतिक प्रतिषोध साँधिएको जिकिर गरे । रवि स्वयंले अदालतको गेटमा उभिएर कार्यकर्तालाई षड्यन्त्रविरुद्ध सडकमा आउन आह्वान गरे । सोचेजस्तो चाहिँ भएन । सिंगो ‘घण्टीघर’ र ‘सेलिब्रेटी’ नेताहरुप्रति पोखराले न्यायो सहयोग दिएन । र, त्यस्तो सम्भव पनि थिएन । किनकि, पोखरा सूर्यदर्शनसहित विभिन्न सहकारीबाट ठगिएका हजारौँ पीडितहरु बस्ने सहर थियो । सहकारी प्रकरणमा डामिएकालाई समर्थन गर्नु भनेको पीडितलाई पीडा दिनु थियो । यथार्थता बुझेपछि रास्वपाका नेताहरुले सहकारी पीडितलाई आफ्नो पक्षमा ल्याउने प्रपञ्च सुरु गरे । घरघर पुगे । राजनीतिक रुपले सत्ता पक्ष र हाल विपक्षमा रहेको माओवादी केन्द्र समर्थकलाई फुटाउन पनि खोजे पनि आशातित् सफलता हात लागेन । दुई दिन उनीहरुलाई सडकमा आउनबाट रोक्ने सफलता भने प्राप्त भयो । यता, कार्यकर्ता बिस्तारै थाक्दै गए । बाहिरबाट आएकालाई घरले बोलाउन थाल्यो । प्रहरी अनुसन्धान लामो हुन्छ भन्ने रविले नबुझेका हैनन् तर कार्यकर्ताहरुलाई बिहीबार हाजिरी जमानीमा छुट्ने प्रचार गराइयो । बिहीबार हुने आन्दोलन अन्तिम हुने र त्यसपछि काठमाडौं केन्द्रीत आन्दोलन हुने घोषणा गर्न रास्वपाका नेताहरु बाध्य बने । र, ती नेताहरुले बुझेको अर्को कुरा के हो भने–रविले भीड जम्मा गर्न सक्छन् तर उनको उपस्थितिमा भीडले अन्य नेतालाई चाहिँ पत्याउँदो रहेनछ ! सडकमा मान्छे उतार्न सजिलो हुँदो रहेनछ !
यता, कास्कीका रहेको नागरिक समाज र राजनीतिक दलहरुले सहकारी पीडितलाई आड–भरोशा दियो । सडकबाट विस्थापित गराइएकाहरुले बिहीबार राजनीतिक शक्तिको आडमा सडकमा निस्कने घोषणा गरे । रास्वपाले पनि त्यसलाई ‘काउण्टर’ दिने रणनीति तय ग¥यो । खासमा रास्वपा कास्की प्रहरीको हिरासतमा रहेका पार्टी अध्यक्ष आउने बाटो नै अवरुद्ध पार्दै शक्ति प्रदर्शन गर्न चाहन्थ्यो । तर, प्रहरीले बिहान १० बजे नै रविलाई अदालत पु¥यायो । सहकारी पीडित र रास्वपाका कार्यकर्ता सडकमै थिए । पीडितहरुबाट थाल ठटाएर शालीन प्रदर्शन भयो । त्यही बेला रविलाई थप ७ दिन हिरासतमा राखेर अनुन्सधान गर्न अनुमति दियो । दुईपटक जोडबल लगाएर जम्मा गराइएको रास्वपाको भीड सो खबर सुनेपछि आक्रोशित बन्यो । जिल्ला प्रशासन कार्यालय कास्की जाने गौंडो (वाइचोक) कुरेर बसेका उनीहरुले त्यसपछि निषेधाज्ञा तोड्ने प्रयत्न गरे । प्रहरीले नियन्त्रणको लागि अश्रूग्यास प्रयोगमा ल्यायो । धन्न, अप्रिय केही भएन ।
यी घटनाक्रमपछि रास्वपाका नेताहरु काठमाडौं लागेका छन् । रास्वपा गण्डकीका अध्यक्ष राजन गौतमका अनुसार शीर्ष नेतृत्व शुक्रबार बिहानै काठमाडौं गइसकेको छ ।‘अबको आन्दोलन काठमाडौंमै हो, म अलिकति तारतम्य मिलाउन यहीँ छु,केन्द्रमै पुगेर आफ्नो आवाज र शक्ति दुबै प्रदर्शन गर्ने हो,अध्यक्ष यहीँ रहेकाले हामी यता पनि हुन्छौँ नै,’उनले भने । उनले पोखराले अध्यक्ष रवि र रास्वपाप्रति भरोशा जताएको जिकिर पनि गरे ।
अध्यक्ष गौतमले जे भने पनि,पोखरामा भएको प्रदर्शनले रास्वपा र रवि लामिछाने दुबैको ‘राप र ताप’ घट्दै गएको छनक दिएको छ । मुखले नभने पनि रास्वपाकै नेताले त्यो कुरा बुझेका छन् । सञ्चारकर्ममा निरन्तरता नहुँदा ‘नौ दिनमा नौलो र २० दिनमा बिर्सने’ अवस्था हुन्छ । टेलिभिजनको पर्दामा देखिने,रात–बिरात अमूक मान्छेलाई टेलिफोन गरी झाँको झार्ने अनि लोकले जे रुचाउँछ, त्यस्तै उत्तेजित अभिव्यक्ति दिने रविको ठाउँ अहिले ‘युट्युवर’ लिइसकेका छन् । विधायकी अधिकार पाएका रवि चाहिँ बिस्तारै कान्तिहीन र आफैले खडा गरेको समस्याको पहाडले थिचिने अवस्थामा पुगेको घटनाक्रमले पुष्टि गरिसकेको छ । फेरिएको भूमिकालाई न्याय गर्दै अगाडि नबढे उनी थप दुर्घटनामा पर्ने सम्भावना बढेर गएको छ । आफूमाथि लागेका आरोपलाई मिथ्या सावित् गर्नु वा गल्ती भएको भए त्यसबाट उन्मुक्तिको लागि न्यायिक प्रक्रिया स्वीकार्नुभन्दा उनीसँग अर्को विकल्प छैन । भीड जम्मा पारेर जनतासँग जोडिएको सहकारी ठगीबाट उम्कन सकिँदैन भन्दै सत्ता गठबन्धनले लर्कानुको अन्तर्य पनि यही हो । भीडको शक्ति क्षणिक हुन्छ । उत्तेजना र घृणा फैलाएर राजनेता भइँदैन भन्ने मनन गर्दै अगाडि बढ्दामात्र सिंगो रास्वपाको लागि त्यो सबैभन्दा हितकर हुन्छ । आफैले बनाएको पार्टी जोगाउनै निम्ति पनि रविले ‘रवि भनेको रास्वपा र रास्वपा भनेको रवि’ भन्ने यथार्थता पनि बदल्नुपर्छ । पार्टी र व्यक्ति फरक हो भन्ने महसुस गराउन सक्नुपर्छ । अवसरको खोजीमा नै आएका नै किन नलागोस् ! सही पात्रलाई पार्टीको सही जिम्मेवारी दिनुपर्छ । समग्रमा हामीले भनेको जे पनि भइहाल्छ भन्ने धारणासँगै रास्वपाले अब चस्मा बदल्नुपर्छ ।





