काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू मन्त्री, प्रधानमन्त्री बनाइदेऊ भनेर कांग्रेस–एमालेसंग नजाने बताएका छन्। माओवादी केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले अब माओवादी त्यसरी नआउने बताउँदै ढुक्कसँग सरकार चलाउन आग्रह गरे।
‘तपाईं (कांग्रेस–एमाले) हरू हामीसँग ढुक्क भए हुन्छ, अब तपाईंहरूसँग समीकरण गरौं, हामीलाई मन्त्री बनाइदिनुस्, प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं,’ अध्यक्ष प्रचण्डले भने।

माओवादी सडकमा आएर सरकार ढाल्न नलाग्ने पनि उनले बताए। ‘माओवादीलाई बरु के चिन्ता भएको छ, हामीले के समीक्षा गरेका छौं भने तपाईंहरू जस्ता पार्टीहरू जो यो देशका दलाल पुँजीपति, बिचौलिया र भ्रष्टहरूको प्रतिनिधि रहनुभएको छ, हामीले तपाईंहरूसँग केही समय सहकार्य गरेर गल्ती गर्यौं भन्ने परेको छ हामीलाई,’ उनले भने, ‘हामीले तपाईंहरूसँग समीकरण गरेर गल्ती गर्यौ। तपाईंहरूको रोग अलिअलि हामीलाई सर्यो भन्ने चिन्ता छ, हामी गम्भीर आत्म समीक्षामा छौं।’
आफूलाई सरकारबाट हटाएर राम्रो गरेको पनि प्रचण्डले बताए। ‘मैले प्रतिनिधिसभामा पनि धन्यवाद दिएका थिएँ। हामी अलिअलि बिग्रिन थालेका थियौं, हामी जनताबाट कट्न थालेका थियौं, प्रतिक्रियावादीसँग हिँड्दाहिँड्दै हामी पनि उस्तै हुने हो कि भन्ने खतरा पैदा भएको थियो,’ उनले भने, ‘तपाईंहरूले हामीलाई बेलैमा निकालेर जनतातिर फर्किदिनुभयो।’

प्रचण्डले प्रधानमन्त्री केपी ओलीले मीनबहादुर गुरुङसँग जग्गादान लिएपछि भाटभटेनी प्रचण्डको हो भन्ने आरोपबाट आफूले मुक्ति पाएको बताए । उनले भाटभटेनी आफ्नो नभएको भन्दाभन्दा हैरान भइसकेको बेलामा ओलीले क्लियर गरिएको भन्दै धन्यवाद दिए ।
उनले भने, ‘यो भाटभटेनी प्रचण्डको हो भन्ने आरोप लगाउँदै आइरहेका थिए । मैले होइन भन्छु, पत्याउने कसैले होइन । प्रचण्डकै हो भनेको छ, हिँडेको छ । हाम्रो नेतृत्वको सरकारले पक्राउ गरेर मुद्दा चलाउँदा पनि यो प्रचण्डकै हो भनेका थिए । म हैरान थिएँ, कसरी क्लियर गर्ने भनेर । अहिले केपीजीले क्लियर गरिदिनुभयो । धन्यवाद छ । त्यसको शेयरहोल्डर तपाईं रहेछ, भ्रष्टाचारी त तपाईं नै रहेछ भन्ने क्लियर गरिदिनुभयो । मैले बोल्नैपरेन । तपाईंले नै उहाँ पहिल्यैदेखि एमाले हुनुहुन्थ्यो भन्दिनुभयो । तपाईंलाई धन्यवाद ! अब यो प्रचण्डको होइन भन्ने भयो । म खुशी छु ।’
प्रचण्डले सहकारीको रकम ठगी गरेको आरोप लागेका सत्तारुढ दलका नेताहरूलाई सरकारले छानबिनको दायरामा पनि नल्याएको भन्दै प्रश्न गरेका छन् । सहकारी रकम बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले दोषी ठहर्याएका एमाले र कांग्रेसका नेताहरूलाई छानबिन नगरेको उनको भनाइ थियो । ‘त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई छानबिन, गिरफ्तार गर्न नपर्ने ? कांग्रेसको पनि नाम छ त्यहाँ, त्यो नामलाई पनि केही गर्न नपर्ने ?,’ प्रचण्डले भने, ‘राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने कुरा बेठिक छ ।’

सरकारी ठगहरूलाई कारबाही गर्नुपर्छ भन्नेमा माओवादी स्पष्ट रहेको बताउँदै संसदीय छानबिन समिति बनाउने बेलाको प्रसंग उल्लेख गरेका थिए । ‘सहकारीसँग सम्बन्धित ठगहरूलाई कारबाही गर्नुपर्छ भन्ने कुरामा हामी कहीँ कन्फ्युजनमा थिएनौं । संसद्मा सहकारीसँग सम्बन्धित छानबिन गर्नेबारेमा बहस चल्यो । मैले समिति बनाउन उचित हुन्छ भन्ने कुरा राखेको हुँ । रवि लामिछानेसँग कुरा गर्दा समिति बनाएर छानबिन गर्नु उचित हुन्छ, दोषी भए कारबाही हुन्छ, दोषी नभए उन्मुक्ति हुन्छ भने । त्यही भएर रविले पनि छानबिन समिति हुनुपर्छ भनेका हुन्,’ उनले भने, ‘छानबिन समिति बन्नु हुन्न भन्ने र रविलाई जोगाउने केपी ओली हुन् ।’





